ईरानराईको दुई हाइकु सङ्ग्रह बजारमा :‘लिम्पियाधुरा’ विश्वकै सानो पुस्तक भएको दाबी


केशु विरही – बेलबारी, २ फागुन । लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील रहेका साहित्यकार इरान राईका दुई वटा हाइकु सङ्ग्रहहरू हालै बजारमा आएका छन् । दुई वटा प्रकाशित कृतिमध्ये लेखक राईले ‘लिम्पियाधुरा’लाई विश्वकै सबै भन्दा सानो पुस्तक भएको दाबी पेस गरेका छन् ।

आफ्ना नयाँ प्रकाशित कृतिबारे जानकारी दिने उद्देश्यले शनिवार बेलबारीमा आयोजित कार्यक्रममा लेखक राईले लिम्पियाधुरा विश्वकै सानो कृति भएको, त्यसका लागि गिनिज वर्ल्ड रेकर्डमा दाबी प्रस्तुत गर्ने बताएका हुन् । एकल र संयुक्त गरी झन्डै एक दर्जनजति कृति प्रकाशित गराई सकेकाका राईद्वारा लिखित ‘लिम्पियाधुरा’ र ‘पुरानो काग’ नामका दुई वटा हाइकु सङ्ग्रहहरू गत माघ २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सार्वजनिकीकरण गरिएका थिए ।

लिम्पियाधुरा हाइकु सङ्ग्रह पुस्तकको लम्बाई १.५ सेन्टिमिटर र चौडाइ ०.७५ सेन्टिमिटर मात्रै रहेको छ । यसमा ६६ वटा हाइकु सङ्गृहीत छन् । साथै पुरानो काग पुस्तकको लम्बाई १.७५ र चौडाइ ०.७५ सेन्टिमिटर रहेको पुस्तकमा ७६ वटा हाइकु सङ्गृहीत छन् । आफ्ना यी दुई कृति मध्ये लिम्पियाधुरा विश्वकै सानो पुस्तकाकार साहित्यिक कृति हुनसक्ने राईको दाबी रहेको र उक्त दाबी आफूले सार्जनीकीकरण कार्यक्रममासमेत राखेको राईले बताए । उनले आवश्यक प्रक्रिया पुरा गरेर गिनिज वर्ल्ड रेकर्डमा यसबारे दाबी प्रस्तुत गर्ने तयारीमासमेत जानकारी दिएका छन् ।

साहित्यका अतिरिक्त राजनीतिमासमेत सक्रिय राईले नेपाली भाषा प्रतिको बढ्दो उदासीनतालाई चिर्दै यी पुस्तककै माध्यमबाट नेपाली भाषाप्रति विश्वको ध्यान आकृष्ट गर्न र भाषिक प्रवर्द्धनको सानो प्रयास गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्