लायन्स क्लब, बेलबारीको विवादित एम्बुलेन्स जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा


मोरङ, २८ माघ । लायन्स क्लब अफ बेलबारीको विवादित एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । लायन्स क्लब अफ बेलबारीको वर्तमान र पूर्व समिति बिच एम्बुलेन्स बिक्री बारे चर्किँदो विवाद र फिर्ता ल्याउने विषयको निकास नभइरहेको बेला जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको हो ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिएका छन् । क्लबले ७ वर्ष अगाडी खरिद गरिएको एम्बुलेन्स हाल विराटनगरमा महोमत अलवादीनले चलाउँदै आएका थिए ।

लायन्स क्लब अफ बेलबारीका अध्यक्ष खेम गौतम भन्छन्, ‘क्लबको स्वामित्वमा रहेको एम्बुलेन्स फिर्ता गर्न ५ लाख सम्म दिन खोज्दा पनि सकेको छैनौ ।’ लायन्स क्लब अफ बेलबारीले खरिद गरेको एम्बुलेन्स वर्तमान समितिले बेलबारीमा सञ्चालन गर्न नपाउँदा पुराना समितिसँगको विवाद चर्किएको हो ।

क्लबको एम्बुलेन्स व्यक्तिलाई विक्री गरेको वर्तमान अध्यक्ष गौतमको आरोप रहेको छ भने फिर्ता लिन ५ लाख सम्म दिन तयार हुँदा पनि सम्भव नभएको उनी बताउँछन् । फिर्ता ल्याउने विषयमा पटक/पटक पुर्व समितिलाई जानकारी गराउँदा पनि सो विषयलाई चासो नदिएको गौतमको आरोप रहेको छ ।

हरेक वर्ष क्लबका अध्यक्ष परिवर्तन भए पनि चासो नदेखाएको तर आफू अध्यक्ष भएर एम्बुलेन्स खोजी गर्दा, फिर्ता ल्याउन असमर्थ रहेको गौतमको गुनासो रहेको छ । मिति २०७० साल वैशाख ३ गते सवारी दर्ता नं. को १ च ५७९४ टाटा सुमो सेतो रङको एम्बुलेन्स जिल्ला मोरङ लेटाङ निवासी भक्त बहादुर राईलाई बिक्री गरिएको थियो । सो ब्यहोराको दुई पक्ष बिच लिखितम् सम्झौता पनि रहेको छ ।

पूर्व कार्य समितिको सर्वसम्मतिमा बिक्री गरिएको सम्झौता पत्रमा उल्लेख छ । संस्थाको तर्फबाट राजकुमार लिम्बुले हस्ताक्षर गरेका छन् भने साँचीमा पर्शुराम सुवेदी, योगेन्द्र प्रसाद सुवेदी, बम बहादुर खुलाल र हरि प्रसाद सुवेदी रहेका छन् । बिक्री मूल्य ९ लाख २५ हजार रुपैयाँ पत्रमा उल्लेख छ ।

राजकुमार लिम्बु अध्यक्ष हुँदा योगेन्द्र सुवेदीको नेतृत्वमा एम्बुलेन्स बिक्री भएको वर्तमान अध्यक्ष गौतमको आरोप रहेको छ । भक्त बहादुर राईद्वारा पनि विराटनगर निवासी महोमत अलवादीनलाई बिक्री गरेको गौतम बताउँछन् । गौतम भन्छन, ‘एम्बुलेन्स फिर्ता गर्न पटक/पटक पूर्व समितिसँग आग्रह तथा बैठक गरेको तर सुनुवाइ भएन ।’
पूर्व अध्यक्ष राजकुमार लिम्बु भन्छन्, ‘बिक्री भनेता पनि कानुनी रूपमा बिक्री भएको छैन, आफूले नसक्दा अरूलाई चलाउन दिँदा प्राविधिक त्रुटि भने भएको हो ।’

समितिले खरिद गरेको पहिलो वर्ष देखी दोस्रो वर्ष नपुग्दै एम्बुलेन्स सञ्चालन गर्न नसकेपछि भक्त बहादुर राईलाई चलाउन दिएको लिम्बुले बताए । राईलाई चलाउन दिँदा मुनाफा खाने नियोजित कुनै उद्देश्यका साथ नदिएको लिम्बु बताउँछन् । लिम्बु भन्छन्,‘वर्तमान कार्य समितिले सञ्चालन गर्छ, भने अब फिर्ता ल्याउनु पर्छ ।’

एम्बुलेन्स बिक्रीबारे योगेन्द्र सुवेदीले पनि सहज रूपमा एम्बुलेन्स सञ्चालन गर्न नसकेको कारणले मात्र लेटाङ निवासी राईलाई चलाउन दिएको बताउँछन् । एम्बुलेन्स को वार्षिक रिनो क्लबले नै गर्दै आएको सुवेदीले जनाएका छन् । वर्तमान समितिले एम्बुलेन्स बेलबारीमा फिर्ता ल्याएर सञ्चालन गर्ने विषयमा आफू सकारात्मक रहेको सुवेदी बताए ।

 

प्रतिक्रिया दिनुहोस्