निःशुल्क स्वास्थ्य शिविरबाट इटहरीवासी उत्साहित


इटहरी, १९ माघ । इटहरीमा आफ्नो घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउँदा अपाङ्गता भएका व्यक्तिहरू उत्साहित भएका छन् । इटहरी उपमहानगरमा अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि सुरु निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्बर २ का ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले शिविरको उद्घाटन गर्नुभयो । वडाध्यक्ष हर्क मगर र करुणा फाउन्डेसनकी सुनसरी संयोजक सगुन गुरुङले स्वास्थ्य शिविरका बारेमा बोल्नुभयो । डा गुञ्जन त्रिताल,डा उपासना पोखरेल,अडियोलोजिष्ट स्पिचथेरापिष्ट रमेश चौधरी लगायतका स्वास्थ्य कर्मीहरूले स्वास्थ्य परीक्षण गर्नुभयो । कार्यक्रममा अपाङ्गता परिचय पत्र नलिएका ५४ जनाको सूचीकरण गरिएको छ । इटहरीमा माघ १८ देखि २६ गते सम्म अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।

इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालित छ । माघ १९ गते वडा नम्वर ३ को स्वास्थ्य क्लिनिकमा,माघ २० गते वडा नम्बर ५,७र ८का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्बर ४,६ र ९का लागि इटहरी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने छ । यसै गरी माघ २२ गते वडा नम्बर १०,११ र १२का लागि र माघ २३ गते वडा नम्बर १३ र १४का लागि खनार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । माघ २५ गते वडा नम्बर १७ र १८का पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्बर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्बर १,१९ र २० का लागि २० नम्बर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ ।

स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्बन्धी परामर्श दिइने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिनुभयो । उहाँका अनुसार हाडजोर्नीको अप्रेसन र हातखुट्टा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिने छ । यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ । निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुनका लागि अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्