बेलबारी, १३ माघ । बेलबारी नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । माघ ११ गते देखी नगरका वडाहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
निःशुल्क स्वास्थ्य शिविरमा अब्स्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाहरूको ईस्केनिङ रिगंपेशरी तथा भि.आई.ए.जाँच सेवा साथै आँखा जाँच सेवा उपलब्ध गराइरहेको शिविर कार्यक्रमका संयोजक स्वास्थ्यकर्मी सन्तोष विश्वकर्मले बताएका छन् ।
सन्तोषका अनुसार बेलबारी वडा नं. ६ र ७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भइसकेको छ । माघ ११ गते प्राथमिक स्वास्थ्य केन्द्र, बेलबारी ७ बाहुनी र आधारभूत स्वास्थ्य सेवा केन्द्र बेलबारी ६, बोराबादमा माघ १२ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
आज मंगलबार बेलबारी वडा नं. ४ मा पनि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ भने वडा नं. ३ मा अब्स्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाहरूको ईस्केनिङ रिगंपेशरी तथा भि.आई.ए.जाँच सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाले वडाहरूमा अभिमुखीकरण कार्यक्रम गराउँदै स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । अभिमुखीकरण कार्यक्रमले स्थानीयलाई सचेत गराउनको साथै स्वास्थ्य शिविर कार्यक्रममा सहभागी हुन उत्साहित गराइ रहेको छ । बेलबारी वडा नं. १० मा माघ १४ गते, वडा नं. २ मा १५ गते र वडा नं. ३ मा १६ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सन्तोषले जनकारी दिएका छन् ।
समाजमा विशेष गरी ग्रामिणभेगका महिलाहरू फिस्टुला तथा पाठेघर सम्बन्धी रोगबारे उपचार गराउन हिचकिचाउने देखिन्छ । जस कारण क्यान्सरले पिरोलेको उदाहरणहरू प्रत्यक्ष देखेका छौ । फिस्टुला तथा पाठेघर सम्बन्धी रोगको उपचारको लागि पहिचान गर्नुको साथै क्यान्सरबाट जोगाउन नगरपालिकाको स्वास्थ्य शिविर कार्यक्रमले सहयोग गर्दै छ ।
जीवनमा कहिले जाँच समेत नगराएका महिला दिदी बहिनीहरू पनि स्वास्थ्य शिविरमा सहभागी भएका थिए । क्यान्सर भएको नभएको थाहा पाउन भि.आई.ए.जाँच सेवा पनि उपलब्ध भएकोले र जाँच गरेको ५ वर्ष सम्म पुनः जाँच गर्नु नपर्ने भएकोले स्वास्थ्य शिविरमा अनिवार्य सहभागी हुन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले आग्रह गरेका छन् ।