हात्तीपाइले विरुद्धको निःशुल्क औषधी खुवाउन सुरु


उत्तम पोख्रेल – बेलबारी / बुधवार देखी हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन थालिएको छ । आठौँ पटक औषधी खुवाइएको हो । सरकारले १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी निःशुल्क रूपमा खुवाउन सुरु गरेको छ । बुधवारदेखि प्रदेश नम्बर १ का झापा, मोरङ,धनकुटा,पाँचथर, इलाम लगायतका जिल्लामा हात्तीपाइले विरुद्धको औषधी खुवाइँदै छ ।


मोरङको बेलबारी नगरपालिकामा मेयर ज्ञानेन्द्र सुवेदीले औषधी खाएर शुभारम्भ गरेका छन् । अघिल्ला वर्षहरूमा गलत प्रचार भएर धेरैले औषधी खाएनन् मेयर सुवेदीले भने आफै वाट सुरु गर्दा अरूले पनि सिक्छन् । उनले सबैलाई औषधी खान समेत सबैलाई आग्रह गरे ।

यस रोगको औषधी दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी, मुटु रोगी, क्यान्सरका बिरामी, मिर्गौला रोगी, छारेरोग भएका व्यक्तिले सेवन गर्न नहुने स्वास्थयकर्मीहरुले बताएका छन् । दुई सातासम्म सञ्चालन हुने औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयंसेवकले नजिकको स्वास्थ्य सेन्टर र घर–घरमा पुगेर खुवाउने बताइएको छ ।सरकारले प्रत्येक वर्ष हात्तीपाइले रोगबाट बच्नलाई औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थि सुन्निने, हाइड्रोशील हुने, स्तनमा गिर्खा देखिनेलगायत समस्या देखिने गर्छ । यस रोगको समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता समेत हुने गर्छ ।

बेलबारीका ६६ हजार २ सय ३६ जनालाई औषधी वितरण गर्ने गरी योजना बनाएको स्वास्थय संयोजक सन्तोष विश्वकर्माले बताए । नगरपालिकाले सो अभियानमा ५० जना भन्दा बढी स्वास्थय कर्मी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्