माघे संक्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७७ को उपाधि केराबारीले चुमे


बेलबारी, २ माघ । नेपाल मगर संघ बेलबारी १ नक्सलबारीद्वारा आयोजित माघे संक्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७७ को उपाधि सतिसाले फुटबल एकेडेमी केराबारीले चुमेको छ ।

केराबारीले विराटनगर फुटबल क्लबलाई सडन डेथमा ९–७ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो । खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको थियो र टाईब्रेकरमा पुगेको थियो । पेनाल्टी शुटआउटमा पनि दुवैतर्फबाट बराबरी गोल भएपछि खेल सडन डेथमा धकेलिएको थियो ।

सडन डेथले भने प्रतियोगिताको विजेताको निर्णय गरेको थियो । दर्शकको हजारैको उपस्थिति र दुवै टिमका खेलाडीहरूको उत्कृष्ट प्रदर्शनीले फाइनल निकै रोमाञ्चक भएको थियो । पुस २४ गते देखी सुरु भएको प्रतियोगिता माघ १ गते माघे संक्रान्तिको अवसरमा सम्पन्न भएको छ । प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उपाधिसहित विजेताले नगद पुरस्कार रु.५१ हजार र उपविजेताले रु.३१ हजार प्राप्त गरेका छन् । फुटबल प्रतियोगितालाई वार्षिक रूपमा निरन्तर दिने नेपाल मगर संघ बेलबारी १ नक्सलबारीका अध्यक्षले मणि मगरले जनाएका छन् ।

समापन कार्यक्रम प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा सोही दिन मगर बौद्ध गुम्बा पनि भवन शिलान्यास भएको छ । कार्यक्रम नेपाल मगर संघ बेलबारी १ नक्सलबारीका अध्यक्ष मणि मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्