सुन्दरहरैंचामा भएको टोल स्तरीय फुटबल खेलको उपाधि क्याम्पस टोललाई


मणिराम दाहाल – २७ पुस । सुन्दरहरैंचा मोरङको सुन्दरहरैंचा वडा १२ को आयोजनामा भएको तेस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलको उपाधि क्याम्पस टोल विकास समितिले हात पारेको छ । शुक्रवारे खेल मैदानमा सोमबार भएको फाइनल खेलमा सिद्धेश्वर टोल विकास समितिलाई ट्राइबेकरमा पराजित गर्दै क्याम्पस टोल विकास समितिले उपाधि उचालेको हो ।

निर्धारित समयको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । ट्राइब्रेकरमा क्याम्पस टोलले २ गोल गर्दा सिद्धेश्वरले गोल गर्न नसके पछि उपविजेतामा चित्त बुझाएको थियो फुटबल प्रतियोगितामा विजेता बनेको क्याम्पस टोल विकासले नगद रु १० हजार तथा उपविजेता बनेको सिद्धेश्वरले ५ हजार प्राप्त गरेका छन् ।

उत्कृष्ट गोलकिपर खोर्साने टोलका सागर तामाङ, उत्कृष्ट डिफेन्डर शुक्रबारे प्रणाम टोलका किरण बुढाथोकी तथा उत्कृष्ट खेलाडी सुकुना टोलका उमेश उराव घोषित भए । उनीहरूले नगद रु १ हजार १ सय प्राप्त गरे । प्रतियोगितामा वडाध्यक्ष रोशनप्रसाद ढकाल, वडा सदस्य गणेश फुयाँल, वडा सचिव तीर्थकुमारी सुवेदी, खेल संयोजक दिलीप दाहाल लगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो ।

पुस २५ देखि २७ गते सम्म भएको प्रतियोगितामा पाँच वटा टोलले सहभागिता जनाएका थिए । प्रतियोगिताको कार्यक्रम सञ्चालन हिमाल अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्