राजारानी रारा फाइनलमा प्रवेश, झापा र धरान आज भिड्दै : स्व.संजोग स्मृति नकआउट फुटबल प्रतियोगिता


बेलबारी, २३ पुस । धनकुटाको रारा फुटबल क्लब, राजारानी मोरङको बेलबारीमा जारी टुबोर्ग स्व.संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार भएको पहिलो सेमिफाइनल खेलमा राराले मोरङको बिन्दाबासिनी फुटबल क्लब, विराटनगरलाई टाइब्रेकरमा ४–३ गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

खेलको ५ औँ मिनेटमै राराबाट भएको वन्डगोलले बिन्दाबासिनीलाई एक गोलको अग्रता दिलाएको थियो । २४ औँ मिनेटमा राराका खेलाडी बुद्ध चेम्जाङले गोल गर्दै खेल बराबरीमा पुराएका थिए । दोस्रो हाफमा दुवै टिमबाट कुनै गोल नभए पछि खेल बराबरीमा टुंगिदै टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा राराको तर्फबाट बुद्ध चेम्जोङ , सुनिल खड्का, योगेश गुरुङ र रुपेश केसीले गोल गरे भने बिन्दाबासिनीबाट मिलन राई, अनिल धामी र पदम भट्टराईले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच राराका बुद्ध घोषित भए । उनले नगद पुरस्कार रु.२ हजार ५ सय ५५ प्राप्त गरेका छन् ।

आयोजकका अनुसार बिहीबार हुने दोस्रो सेमिफाइनलमा सताक्षीधाम स्पोटिङ क्लब, झापा र धरान सिटी एकेडेमी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्