प्रदेश १ का ६९ स्थानीय तहमा अपाङ्गता रोकथाम कार्यक्रम


विराटनगर, १९ पुस । प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सुरु गरेको छ । गत आर्थिक वर्षदेखि सुरु भएको कार्यक्रम चालु आर्थिक वर्ष सम्म आई पुग्दा ६९ वटा स्थानीय तहमा पुगी सकेको छ ।

चालु आर्थिक वर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम सुरु गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमका लागि आजदेखि विराटनगरमा तालिम सुरु गरिएको छ । ४५ दिने तालिमको सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । तालिम उद्घाटन गर्दै उहाँले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रदेश सरकारले निरन्तर रूपमा सञ्चालन गर्ने बताउनुभयो । अपाङ्गता न्यूनीकरणका लागि कार्यक्रम प्रभावकारी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले अपाङ्गता न्यूनीकरणका लागि करुणा फाउन्डेसनसँगको सहकार्यमा काम गरिरहेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको मेरुदण्ड सहकर्ताहरू भएको बताउनुभयो ।

प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनवीचको सहकार्यमा तीन बर्षे कार्यक्रम सुरु गरिएको हो । मोरङ, सुनसरी, धनकुटा र पाँचथरका २७ स्थानीय तहबाट गत वर्ष कार्यक्रम सुरु गरिएको थियो । चालु आर्थिक वर्षमा मोरङ, सुनसरी, संखुवासभा र भोजपुरका गरी थप ३१ स्थानीय तहका कार्यक्रम सुरु गरिएको करुणा फाण्डेसनका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताउनुभयो । उहाँका अनुसार इलामका १० र सुनसरीको बराह क्षेत्रमा यसअघि देखि नै कार्यक्रम सञ्चालनमा छ ।

करुणा फाण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा ३ वर्ष कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारसँग सम्झौता भएको करुणा फाउन्डेसनका सह निर्देशक योगेन्द्र गिरीले बताउनुभयो । अपाङ्गता न्यूनीकरणको काम निरन्तर सञ्चालन गर्नुपर्ने भएकाले ३ वर्षपछि प्रदेश र स्थानीय सरकारले कार्यक्रम अघि बढाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्