नेकपा इलामले असंवैधानिक कदमको विरुद्ध कार्यक्रम गर्दै


इलाम, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामको तेस्रो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला कमिटीका बहुमत सदस्यहरू उपस्थित रहेको बैठकले पार्टी कमिटी परिचालन तथा संर्घष कार्यक्रम संयोजकको रूपमा भक्त केसीलाई जिम्मेवारी दिएको छ । केसीले पार्टी परिचालनका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध हुने कार्यक्रमको संयोजना गर्नेछन् ।

कार्यालय व्यवस्थापन समितिमा रणबहादुर राई, उदय राई र जेबी फिलिहाङलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ । आगामी पुस २५ गतेभित्र जिल्लाका सबै पालिकाहरूमा कार्यकर्ता भेला तथा प्रशिक्षणका कार्यक्रमहरू चलाउने निर्णय भएको कार्यालय सदस्य विजय खम्बुले जानकारी दिए । बैठकले कार्यालय सचिवमा प्रकाश परियार र सोम शर्मालाई नियुक्त गरेको छ ।

नेकपा केन्द्रीय सदस्य एवम् प्रदेश सांसद धिरेन्द्र शर्मा रमणको अध्यक्षतामा भएको बैठकमा नेकपा प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद खिनु लङ्वा लिम्बु, नेकपा प्रदेश सदस्यहरू उर्मिला तामाङ, मणिकुमार लिम्बु, ध्रुव श्रेष्ठ, नेकपा नेता प्रवीण तिम्सिना, राम राई लगायतको आतिथ्य रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शर्माले अहिलेको संसद् विघटन असंवैधानिक कदम भएकाले सबैले आआफ्नो तह र तप्काबाट यसको विरुद्ध संर्घष गर्ने आग्रह गरे । उनले प्रतिगमनका विरुद्ध सबै निष्ठावान् कार्यकताहरुले आवाज बुलन्द गर्ने समय आइसकेको बताए । नेकपा प्रदेश कमिटी सदस्य मणिकुमार लिम्बुले नेकपा टुटफुट र विभाजनमा नलागी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए । उनले प्रधानमन्त्रीको असंवैधानिक कदम जनताको जनादेशको अपमान भएकाले सबैले यसको विरुद्ध कदम चाल्नुपर्ने बताए ।

पार्टी कमिटी परिचालन तथा संर्घष कार्यक्रम संयोजक भक्त केसीले अबको कम्युनिष्ट आन्दोलनको कार्यक्रममा आफ्नो भूमिका महत्त्वपूर्ण रहने बताए । उनले पार्टीबाट पाएको जिम्मेवारीलाई पुरा गर्दै सशक्त आन्दोलनका लागि आफू कटिबद्ध भएको बताए ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको बैठक सचिव सोममाया राई सिन्धुले सञ्चालन गरेकी थिइन् । बैठकमा बहुमत जिल्ला कमिटी तथा सचिवालय सदस्यहरूको उपस्थिति रहेको कार्यालय सदस्य खम्बुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्