धरान सिटी एकेडेमी सेमिफाइनलमा प्रवेश : स्व.संजोग स्मृति नकआउट फुटबल प्रतियोगिता


मोरङ, १७ पुस । बेलबारी फुटबल क्लबको आयोजनामा मोरङको बेलबारी नगरपालिका वडा नं.३ स्थित प्रस्तावित बेलबारी फुटबल रङ्गशालामा जारी “स्व.संजोग स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७” को दोस्रो क्वाटर फाइनल खेलको विजेता धरान सिटी एकेडेमी फुटबल क्लब (डिसिए) भएको छ ।

डिसिएले उर्लाबारी फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ७२ औँ मिनेटमा जर्सी नं.९ का खेलाडी मिलन लिम्बुले गरेको गोलले डिसिए सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

 

पहिलो हाफको खेल गोल विहिन सकिएको थियो । दोस्रो हाफमा भने खेलको ७२ औँ मिनेटमा डिसिएबाट गोल भएको हो । खेलको म्यान अफ दि म्याच मिलन लिम्बु नै घोषित भएका छन् । लिम्बुले नगद पुरस्कार रु.२ हजार ५ सय ५५ प्राप्त गरेका छन् । आज शुक्रवार सम्पन्न दोस्रो दिनको खेलमा डिसिए रातो जर्सीमा थिए भने उर्लाबारी फुटबल क्लबका खेलाडीहरूले निलो जर्सीमा खेल खेलेका थिए ।

 

बिहीबार भएको उद्घाटन खेलमा विन्ध्यवासिनी फुटबल क्लबले डाँगीहाट फुटबल क्लबलाई २–१ गोलको अन्तरले पराजित गरेको थियो । उद्घाटन खेलको म्यान अफ दि म्याच विन्ध्यवासिनी फुटबल क्लबका जर्सी नं. १५ का खेलाडी पदम भट्टराई घोषित भएका थिए ।

उद्घाटन खेलमा विन्ध्यवासिनी खेलाडी निलो जर्सी नं. ४ का मिलन राईले २९ औँ मिनटमा गरेका थिए भने ५० औँ मिनटमा जर्सी नं.१० का भुवन बस्नेतले निर्णायक गोल गरेका थिए । डाँगीहाटका खेलाडी पहेलो जर्सी नं.१० का सुशन तामाङले ६५ औँ मिनटमा एक गोल फर्काए थिए । तर जितको लागि भने पर्याप्त नभएकोले सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ ।

भोलि शनिवार आयोजक टिम बेलबारी फुटबल क्लब र पथरीशनिस्चरे फुटबल क्लब बिच प्रतिस्पर्धा हुने छ । बेलबारी फुटबल क्लबका अध्यक्ष रसिन तामाङका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद पुरस्कार रु.५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ र उपविजेताले रु.३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रदेश नं.१ का दश फुटबल टिमको सहभागिता रहेको अध्यक्ष तामाङले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्