इटहरीमा छ लेन सडक सीमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउने


इटहरी , १४ पुस । विराटनगर इटहरी धरान छ लेन सडक योजना अन्तर्गत इटहरीमा सडक विस्तारको ठेक्कापट्टा भएको स्थानमा सडक सीमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउन सार्वजनिक सूचना गरिने भएको छ । इटहरी उपमहानगरमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

सूचना जारी भएको सात दिन भित्र सडक सीमाभित्रको आ आफ्नो संरचना नहटाए इटहरी उपमहानगर,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय लगायतको सहयोगमा ठेक्कापट्टा भएको सडक सीमाभित्रका संरचना हटाउने निर्णय भएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,उपप्रमुख लक्ष्मी गौतम,सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल,प्रहरी प्रमुख कमल थापा,इटहरी उपमहानगरका वडाध्यक्षहरू तथा रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख बद्री प्रसाद शर्मा लगायत सरोकारवाला सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सडक सीमा भित्रका संरचना नहटाइएका कारण निर्माण कार्यमा वाधा भएको विषयमा छलफल भएको थियो । यसअघि २०७६ फागुन १६ गते उपमहानगरमा बसेको बैठकले सडक सीमा खाली गराउने निर्णय गरेको थियो । त्यसपछि राष्ट्रिय पत्रिकाहरूमा संरचना हटाउन सार्वजनिक सूचना जारी भएको थियो । हटाउनुपर्ने अस्थायी तथा स्थायी संरचनाको इटहरी उपमहानगर र योजनाका प्राविधिकहरूबाट संयुक्त लगत सङ्कलन कार्य समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्