सुनसरी, ७ पुस । सुनसरीलाई सडक मानव मुक्त बनाउन पुस १० गते इटहरीमा वृहत् कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारले प्रदेश १ लाई सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत सुनसरी जिल्लामा पुस १० गते कार्यक्रम गर्न लागिएको हो ।
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय,सुनसरीका स्थानीय पालिकाहरू र मानव सेवा आश्रमको सहकार्यमा सुनसरीलाई सडक मानवमुक्त बनाउन लागिएको हो । पुस १० गते शुभारम्भ पार्टी प्यालेस इटहरीमा हुने कार्यक्रममा सुनसरीका १२ वटै पालिकाका सडक मानवहरूलाई भेला गराएर नुहाइदिने,केश काटिदिने र नयाँ लुगा प्रदान गरेर सहभोजको कार्यक्रम छ ।
उपप्रमुख गौतमका अनुसार सहभोजमा सामाजिक विकास मन्त्री जीवन घिमिरे,सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुखको सहभागिता रहने छ । कार्यक्रमको व्यवस्थापन इटहरी उपमहानगरले गर्ने छ ।कार्यक्रम पछि सडक मानवहरूलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ ।