जोर–बिजोर प्रणाली भोलिदेखि हट्ने


काठमाडौं, २ पुस । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली भोलि शुक्रबारदेखि हट्ने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै उक्त नियम हटाउने सहमति भएको हो ।जोर–बिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउने छन् ।

तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारदेखि लागू हुनेगरी जोर–बिजोर प्रणाली हटाउने निर्णय भएको छ’, उनले भने ।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोर बिजोर प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।

महासंघका महासचिव सरोज सिटौला लकडाउनपछि यात्रु पाउनै मुस्किल पर्ने सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजोर हट्नु सकारात्मक भएको बताउँछन् । विगतमा भीडभाड कम गर्न जोर–बिजोर प्रणाली लगाए पनि अहिले अरु कुनै खालका प्रतिबन्धहरु नभएकाले अब जोर–बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने महासंघको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्