बालिका बलात्कार गर्ने किशोरलाई १९ वर्ष चार महिना कैद


सप्तरी, २ पुस । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पु¥याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसला समेत गरेको हो ।जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबरजस्ती करणी गरेको आरोपमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महिना कैद र ४६ हजार ६४६ जरिवाना तथा थप सजायतर्फ छ वर्ष आठ महिना कैद र रु ६६ हजार ६६६ जरिवाना तोकेको अदालतले जनाएको छ । आरोपितले पीडितलाई एकुमष्ठ रु ५० हजार क्षतिपूर्ति समेत भर्नुपर्ने फैसला भएको छ ।

कैदतर्फ सबैभन्दा बढी जबर्जस्ती करणीमा आठ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको सानो कैद भोग्नु नपर्ने तर थप सजाय भने भोग्नुपर्ने जिल्ला अदालतले जनाएको छ । आरोपित समेत बालबालिका भएकाले दुई तिहाइ कैद सजाय हुने तर जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने ठहर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाए ।

आरोपितले ०७५ मंसिर २५ गते गाउँघरबाटै बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पु¥याएर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७५ पुस ३ गते उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितलाई ०७५ पुस ४ गते पक्राउ गरेको थियो । पक्राउ परेका आरोपितलाई सप्तरी जिल्ला अदालतले ०७५ पुस २८ गते बाल सुधार गृहमा पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्