आदिवासी जनजाति महासंघ बेलबारीद्वारा ३६ जनालाई छात्रवृत्ति वितरण


बेलबारी, १ पुस । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, बेलबारी मोरङले छात्रवृत्ति वितरण सुरु गरेको छ । आदिवासी जनजाति समुदायका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई महासंघले छात्रवृत्ति वितरण गरेको हो।

रु.४ लाख ३२ हजार बराबरको ३६ जनालाई छात्रवृत्ति वितरण गर्ने नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, बेलबारीले जनाएको छ । महासंघले १४ जातीय संस्थाद्वारा प्रतिनिधित्व गरेर ३६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै छ ।

एक साता भित्र छात्रवृत्ति वितरण कार्य सम्पन्न हुने नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, बेलबारी अध्यक्ष तिलकप्रसाद राईले जनाएका छन् । प्रत्येक विद्यार्थीले रु.१२ हजार प्राप्त गर्ने छन् । महासंघले बुधवार देखी छात्रवृत्ति वितरण सुरु गरेको हो ।

महासंघले जातीय संस्थाको कार्यालयमा पुगेर नै यस पटक छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ । अध्यक्ष राई छात्रवृत्ति वितरण कार्य कोभिड १९ को महामारीको कारण ढिलो भएको समेत जनाएका छन् । राईले कार्यक्रममा छात्रवृत्ति वितरण गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्