सीमाक्षेत्रमा जनशक्तिको अभाव


भण्टाबारी,२८ मंसिर । सुनसरीका सीमाक्षेत्रमा बीओपी स्थापना गरिए पनि जनशक्ति अभावका कारण आपराधिक गतिविधि प्रभावकारी नियन्त्रण हुन सकेको छैन ।

सुनसरीमा ६५ किलोमिटर खुल्ला सिमानामा ६ सय ५० जना सशस्त्र प्रहरी कार्यरत छन् । हालसम्म दशवटा बीओपी स्थापना भइसकेको छ । इन्स्पेक्टरको नेतृत्वमा रहने बीओपीमा २५ देखि ३० जना सशस्त्र प्रहरी खटिँदै आएका छन् । सीमाबाट हुनसक्ने सम्भावित घटना तथा अन्य गतिविधिलाई नियन्त्रण गर्न बीओपीको सङ्ख्या बढाउँदै लगिएको छ तर, जनशक्ति अभावका कारण प्रभावकारी रूपमा नियन्त्रणमा ल्याउन नसकिएको प्रहरी अधिकारी नै बताउँछन् ।

उपलब्ध जनशक्तिले गस्ती, सीमा सुरक्षाका साथै अपराध तथा चोरीपैठारी नियन्त्रण गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टर सुनसरीका गणपति एसपी माधवप्रसाद पौडेलले जानकारी दिए । ‘आवश्यकता अनुसार जनशक्ति छैनन्, एकजना सशस्त्र प्रहरीले गस्ती गर्नुभन्दा पोष्ट कुर्दै बस्छौं । कहीँकतैबाट कुनै सूचना आयो भने दुई–चारजना लिएर जान्छौं’ उनले भने

भारततिर प्रत्येक पाँच किलोमिटरको दूरीमा पोष्ट छन् । नेपालमा भने १० देखि १५ किलोमिटरको दूरीमा मात्रै पोष्ट रहेको छ । एसपी पौडलका अनुसार एउटा पोष्टदेखि अर्को पोष्टसम्म गस्ती गर्न निकै चुनौती रहेको छ । सशस्त्र प्रहरीको पोष्ट बढाउँदा जनशक्तिसँगै साधनस्रोतसमेत थप्नु पर्ने बाध्यता पनि रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्