कानको मुद्राको कारण ६ वर्षीया बालिकाको हत्या


रसुवा, २५ मंसिर । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको छ । बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान विद्यालय गएकी सुमिना साँझसम्म पनि घर नफर्किएपछि खोजी शुरु गरिएको थियो । परिवारका सदस्यको निवेदनका आधारमा खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा मंगलबार बालिकाको शव भेटिएको थियो ।पक्राउ परेकी सपनाले सुमिनाको हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी इन्द्र सुवेदीले जानकारी दिएका छन् ।

सपनाले चाउचाउ दिएर फकाइछन् र अलि पर लगेर बालिकाको कानको मुद्रा निकालेको पाइएको जानकारी दिंदै डिएसपी सुवेदीले भने, ‘बालिकाले आमालाई भन्दिन्छु भनेपछि डोरीले घाँटी कसेर हत्या गरिछन् ।’
बालिकाको अत्यन्त क्रुर ढंगले हत्या गरेको देखिएको र सपनासँग पहिलेदेखि नै डोरी साथमा रहेकाले बालिकाको हत्या गर्ने उद्देश्य नै देखिएको उनले बताएका छन् ।

हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको बयान सपनाले प्रहरीलाई दिएकी छन् । शव भेटिएको नजिकै बालिकाको झोला र चप्पल भेटिएको थियो । त्यहीं नजिकै चाउचाउको प्याकेट पनि भेटिएको छ । हत्यामा संलग्न सपनामाथि सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको डिएसपी सुवेदीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्