दुई वर्षभित्रमा हुलाकी राजमार्ग सञ्चालनमा आउने


विराटनगर, २१ मंसिर । सप्तरी देखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी २ वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

हुलाकी सडकको कामबारे आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिनु भएको छ । पाण्डेले करिब ४८ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । चालु आर्थिक वर्षमा पुलहरूको काम सम्पन्न गर्ने र २ वर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डले जानकारी गराउनुभयो । उहाँले मन्त्री घिमिरेलाई झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भई सकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ रंगेली र विराटनगरमा सडकमा केही समस्या छ ।’ रंगेलीको केही स्थानमा निर्माणको डिजाइन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या भएको पाण्डेको भनाई छ । हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उहाँले बताउनुभयो । विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन नसकेको आयोजना प्रमुख पाण्डेले मन्त्री घिमिरेलाई जानकारी गराउनुभयो ।

सामाजिक विकास मन्त्री घिमिरेले आगामी २ वर्षभित्रमा राजमार्ग सञ्चालन गर्ने गरि काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले सडक निर्माणमा भएका समस्याबाट प्रदेश सरकारले पनि पहल गर्ने बताउनुभयो । हुलाकी सडकको चर्चा धेरै भए पनि काम नदेखिएको मन्त्री घिमिरेले बताउनुभयो । विराटनगर क्षेत्रको समस्याबारे छलफल गर्न सकिने उहाँले बताउनुभयो ।

मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको छ । ज्ञवालीले चालु आर्थिक वर्ष भित्रमा करिब १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताउनुभयो । पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उहाँले बताउनुभयो । सडक निर्माण भए पनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलहरूको निर्माण भइरहेको मन्त्री घिमिरे समक्ष जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्