कार दुर्घटना हुर्दा एक युवतीको मृत्यु , तीन घाइते


भक्तपुर, २१ मंसिर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ८ च ४७५६ नम्बरको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिई पल्टिएको थियो । दुर्घटनामा कारमा सवार काठमाडौँ महानगरपालिका–४ धुम्वाराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको उपरीक्षक गिरीले जानकारी दिए । उनले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पु¥याइएको बताए । घाइते श्रेष्ठको अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।

घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले बिहान नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए । सोही कारमा सवार मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।

दुर्घटनापछि कारमा सवार ती तीन जना नै घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा बिहानै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको छ । दुर्घटनामा कार भने पूर्ण क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्