नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा बस्दै


काठमाडौं,२१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दै छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ ।

शनिबारको सचिवालय बैठकमा सहमति नजुटेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो ।
पहिलो दिनको स्थायी कमिटीको बैठकमा सदस्यहरुलाई ओली र प्रचण्डका प्रस्ताव वितरण गर्ने र केही दिनका लागि पढ्न समय दिने सचिवालयका नेताहरुको तयारी छ । यसअनुसार स्थायी कमिटी बैठक केही दिन लम्बिने देखिएको छ ।

यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले १० दिनपछि त्यसको काउन्टरमा ३८ पृष्ठको बेग्लै प्रस्ताव ल्याएका थिए ।
गृहमन्त्री रामबहादुर थापा (बादल)ले अध्यक्षका दुवै प्रस्ताव फिर्ता लिने र साझा प्रस्ताव तयार पार्न उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा एक कार्यदल बनाउने प्रस्तावसमेत शनिबारको सचिवालय बैठकमा गरेका थिए । तर त्यो प्रस्ताव पनि बैठकले अस्वीकार गरेको थियो । त्यसपछि सचिवालयले दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली आइतबार स्थायी कमिटीको बैठक बस्न अनिच्छुक थिए । एजेण्डा र तयारी केही पनि नभएको भन्दै उनले बैठक १५ दिन पछि सार्न प्रस्ताव गरेका थिए । तर अन्य नेताहरुले त्यसलाई अस्वीकार गर्दै पूर्वनिर्धारित मिति र स्थानमै स्थायी कमिटी बैठक बस्नुपर्ने अडान राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्