राज्यमन्त्री गजमेरद्वारा भोजपुरको षडानन्द ४ का ७० वर्षीय रामबहादुर राईको उद्धार


विराटनगर, २० मंसिर । भोजपुरको षडानन्द नगरपालिका ४ का ७० वर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ वर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आज उद्धार गर्नुभएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । घरमा भएको एक मात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि दुवै जनालाई उद्धार गरी विराटनगरको मानव सेवा आश्रममा ल्याइएको छ ।

राईको उद्धार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताउनुभयो । सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापनाको काममा प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको गजमेरले बताउनुभयो । करिब २ महिना अघि राईको स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले स्लाइन पानी लगायत प्राथमिक उपचार गरेको थियो ।

उद्धार गरिएका राई स्वास्थ्य परीक्षण पछि रोगबारे थाहा हुने मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्