सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम सुरु


विराटनगर, १८ मंसिर । सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम सुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य आजदेखि सुरु भएको छ ।

मास्ट राख्ने कार्यको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रंगशालालाई समयानुकूल अत्याधुनिक रंगशालाका रूपमा निर्माण गर्ने बताउनुभयो । विराटनगरलाई खेलकुदमय बनाउनका लागि काम सुरु भएको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिति हेरेर चाडै खेलकुद गतिविधि सुरु गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले संरचना निर्माणमा जोड दिदैं उहाँले रंगशालाको पुराना संरचना सुधार र मर्मत गर्दै सुविधा सम्पन्न बनाइने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सहिद रंगशालाको प्याराफिटको स्तरोन्नतिमा विशेष ध्यान दिइने बताउनुभयो । महानगरमा खेलकुद गतिविधिलाई तीव्रता दिन गुरुयोजना भए पनि बजेट अभावका कारण पूर्णता दिन नसकिएको उहाँले बताउनुभयो ।

भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाइएको लाइट जडानका लागि हाल भारतको मुम्बईबाट १, कोलकाताबाट २, सिलगढीबाट ४, आसामबाट ३ जना प्राविधिक रहेका छन् । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन अमर जेभीले बताएको छ । फ्लड लाइट जडानका लागि सामाजिक विकास मन्त्रालयले ४ करोड २९ लाख रुपैयाँमा सम्झौता दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्