“ अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने अभियानमा छौँ ” : उपप्रमुख पराजुली


बेलबारी, १८ मंसिर । बेलबारी नगरपालिका अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने अभियानमा रहेको उपप्रमुख ढाका पराजुलीले बताएकी छन् । पराजुलीले भनिन, “अपाङ्गता भएका व्यक्तिहरूको रुचि, सीप, क्षमताको पहिचान गरी उद्यमशीलताका माध्यमबाट आत्मनिर्भर बनाउने अभियानमा छौँ, तपाईँहरू ढुक्क हुनुहोस् स्थानीय सरकार कुशल अभिभावकको भूमिका निर्वाह गर्न सधैँ तयार छ ।”

२९ औँ अपाङ्गता दिवसको अवसरमा बेलबारी नगरपालिकामा भएको एक कार्यक्रममा सो कुरा बताएकी हुन । बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा बेलबारी अपाङ्गता संघ र मोरङ नेत्रहीन संघको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा शुभकामना प्रदान गर्दै उपमेयर पराजुलीले अपाङ्गता भएका नागरिकहरूलाई समाजमा सम्मानित जीवनयापन गर्ने अवसर प्रदान गर्न स्थानीय सरकार कटिबद्ध भई लागेको बताइन ।

बेलबारी नगरपालिकाको सिङ्गो जनसंख्याको दुई प्रतिशत जनसंख्या ओगटेका अपांगता भएका व्यक्तिहरूको कष्टकर जनजीवन जनप्रतिनिधि आएपश्चात् निकै सहज भएको छ । नेपालको संविधानमा उल्लेख भए बमोजिम अपाङ्गगता भएका व्यक्तिहरूको नि शुल्क स्वास्थ्य शिक्षा आदिको सुनिश्चितताका लागि स्थानीय सरकार सदैव सचेत र उदार रहेको पराजुलीले बताइन ।

बेलबारी नगरपालिकाका हरेक अपाङ्गता भएका व्यक्तिहरूका घरघरमा पुगेर हाते पर्चासहित अपांगता भएका व्यक्तिहरूका समस्या बुझ्ने र कोरोनासम्बन्धी सचेतता प्रदान गरिने कार्यक्रम रहेको मोरङ नेत्रहीन संघकी अध्यक्ष सावित्री कोइरालाले बताइन् ।

बेलबारी अपांङ्गता संघका अध्यक्ष भोजराज भुजेलको अध्यक्षता आयोजित कार्यक्रममा बेलबारी नगरपालिका वडा नं ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्