बेलबारीमा समानुपातिक आधारमा शिक्षकको समायोजन


बेलबारी, १७ मङ्सिर । मोरङको बेलबारी नगरपालिकाले शिक्षक दरबन्दी नभएका विद्यालयहरूमा दरबन्दी कायम गरेर शिक्षकलाई पठाउन थालेको छ । दरबन्दी मिलान भएका १९ जना शिक्षक शिक्षकाहरुलाई आफ्नो कार्य क्षेत्रमा खटाई सकेको छ ।

धेरै शिक्षक भएको विद्यालयमा थोरै विद्यार्थी तथा धेरै विद्यार्थी भएको विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएपछि समानुपातिक आधारमा शिक्षकको दरबन्दी मिलान गरिएको बेलबारी नगरपालिका शिक्षा शाखाका अधिकृत भूपेन्द्र कोइरालाले बताएका छन् ।

नगरपालिकाले समानुपातिक आधारमा कक्षा १ देखी ८ सम्म सञ्चालन भएका विद्यालयहरूमा ४ वटा दरबन्दी कायम गरेको छ भने सबै माध्यमिक विद्यालयमा ५ वटा दरबन्दी कायम गरेको छ । यसै गरी आधारभूत विद्यालयहरूमा विद्यार्थी तथा कक्षाका आधारमा दरबन्दी कायम गरिएको छ ।

दरबन्दी नभएका २ वटा माध्यमिक विद्यालयमा एक एक जना शिक्षकलाई पठाई सकिएको छ नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । दरबन्दी अनुसार खालि रहेका विद्यालयमा शिक्षकको व्यवस्थापन गर्ने काममा नगरपालिका अगाडि बढी सकेको छ सुवेदी बताउँछन् । समायोजन भएर गएका शिक्षकहरूलाई नगर प्रमुख सुवेदीले बेलबारीको शैक्षिक गुणस्तरको चर्चा हुने गरी आफ्नो कार्य क्षेत्रमा लाग्न समेत निर्देशन दिएका छन् ।

बेलबारीमा माध्यमिक १२, निम्न माध्यमिक ८ र प्राथमिक ३० वटा विद्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्