धनकुटा जिल्ला अस्पतालमा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु


विराटनगर, १७ मङ्सिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जीवन शैलीका कारण क्यान्सर रोगका बिरामी बढ्दै गएको बताउनुभयो । उहाँले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको बताउनुभयो ।

धनकुटा जिल्ला अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको आज उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले क्यान्सरको शंका लाग्नासाथ परीक्षण गर्न पनि आग्रह गर्नुभयो ।

जिल्ला स्तरबाट सेवा सुरु भएको जानकारी स्थानीय स्तर सम्म पु¥याउन जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई उहाँले आग्रह गर्नुभयो । मन्त्री घिमिरेले सुर्तीजन्य पदार्थ क्यान्सरको बहाव भएर आएकाले यसको नियमन र नियन्त्रण आवश्यक रहेकोमा जोड दिनुभयो । पालिकास्तरबाट सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्दै जानुपर्ने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा रूपान्तरण गर्ने प्रदेश सरकारले योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश सरकार शिक्षण अस्पतालका लागि कानुनी प्रक्रियामा लागेको छ ।’ चालु आर्थिक वर्ष भित्रमा धनकुटा जिल्ला अस्पताललाई १ सय बेडमा स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।

पाठेघरको मुखको नि : शुल्क परीक्षण सुरु गरेकै दिन आज ७ जनाको नमुना संकलन गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनुभयो । नमुना संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने उहाँले बताउनुभयो । एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने निर्देशक यादवले बताउनुभयो । प्रदेश १ मा जिल्ला अस्पतालबाट पहिलो पटक सेवा सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्