बेलबारी ५ मा किसानलाई गहुँको बीउ वितरण


बेलबारी, १६ मंसिर । बेलबारी नगरपालिकाले किसानकालाई समूहमार्फत गहुँ वितरण गरेको छ । बेलबारीका किसानहरूलाई निर्वाहमुखी कृषि प्रणालीबाट व्यावसायिक कृषक बनाउनका निम्ति नगरभित्र स्थानीय स्तरमै शुद्ध गुणस्तरीय बीउ उत्पादन गर्ने उद्देश्यले समूहमा आवद्द किसानहरूलाई गहुँको बीउ वितरण गरिएको हो ।

कृषि शाखाका कर्मचारी विनोद दाहालका अनुसार बेलबारी वडा नं ५ स्थित ञमिश्रित व्यावसायिक तरकारी उत्पादन समूहलाई सामूहिक रूपमा ६ हेक्टर जग्गाका लागि आवश्यक ९ सय क्विन्टल बीउ उपलब्ध गराएको छ ।

हाल समूहले उत्पादनबाट गरेको बीउ भोलिका दिनमा नगरपालिकाका अन्य वडाहरूमा समेत पुर्‍याइने र आम किसानहरूलाई कृषिमा आधुनिकीकरण यान्त्रीकरणका माध्यमबाट व्यावसायिक र आय आर्जनमा जोड्न यस्तो कार्यक्रम ल्याएको नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन । किसानहरूका थप आवश्यकताहरूको पहिचान गरी नगरपालिकाले आवश्यक सहयोग गर्दै उत्पादनशीलतामा जोड दिने लक्ष रहेको उपमेयर पराजुलीले बताइन् ।

बि एल ४३४१ जातको उन्नत बीउ वितरण गरिएकोमा किसानहरूले उत्पादन गरेको गुणस्तरीय बीउ कृषि सामग्री संस्थानले नै किसानबाट उपयुक्त मूल्यमा बीउ खरिद गरिदिने सर्त रहेको वडाध्यक्ष विश्वबन्धु बस्नेतले बताएका छन् । बीउ वितरण कार्यक्रम वडा नं ५ का वडाध्यक्ष विश्वबन्धु बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्