“याक्थुङ जाति सांस्कृतिक पहिचानमा आधारित समुदाय हो” : चुम्लुङ प्रदेश अध्यक्ष मेन्याङ्वो


धरान, १४ मङ्सिर । याक्थुङ (लिम्बु) जाति मुन्धुमी संस्कृतिमा आधारित समुदाय भएको किरात याक्थुङ चुम्लुङका लिम्बुवान प्रदेश अध्यक्ष सह–प्राध्यापक ध्रुवकुमार मेन्याङ्वोले बताएका छन् । धर्मबारे आन्तरिक बहस चलिरहेको बेला संस्कृति मार्फत एकताको प्रयास खोजिनुपर्ने उनले बताएका हुन् ।

शुक्रवार सांस्कृतिक अभियन्ता हितराम तिल्लिङ मादेनद्वारा लिखित ‘याक्थुङ संस्कारहरू’ पुस्तक विमोचनमा बोल्दै नेपाल आदिवासी जनजाति महासङ्घका प्रदेश अध्यक्ष समेत रहेका मेन्याङ्वोले याक्थुङ संस्कृति एकताको आधार हुने बताए । ‘सावायेत्हाङका सन्तान मानिने याक्थुङ समुदाय मुन्धुममा आधारित कर्मकाण्ड गर्ने, जीवन दर्शनमा विश्वास गर्ने र पितृ प्रकृतिलाई सम्मान गर्ने समुदाय हुन्,’ उनले भने, ‘अन्य धार्मिक समुदायसरह बुझ्नु हुन्न । हामी खाजोङ (कर्मकाण्ड) मा आधारित समुदाय हौँ ।’

उनले युमा इष्टदेव मात्रै नभएर जीवन दर्शन र सञ्चालनका लागि सर्वोच्च स्रोत समेत भएको धारणा राखे । ‘समुदायमा अहिले युमा साम्यो मार्फत चलिरहेको सांस्कृतिक जागरणलाई अन्यथा लिनुहुन्न । मूल कुरा पहिचानमा मौलिकता रहन्छ रहँदैन भन्नेमा सचेत हुनुपर्छ,’ उनले जोडे ।

यसै गरी, युमा साम्यो महासभाका अध्यक्ष देवेन्द्र वनेमले साँस्कतिक जराबाट खोजिने पहिचान दिगो हुने उल्लेख गरे । उनले युमा साम्योले समुदायमा फुट ल्याउने कुरा भ्रम रहेको आरोप लगाउँदै आगामी राष्ट्रिय जनगणनामा मौलिक पहिचानका लागि आफूहरू धर्मको महलमा युमा धर्म लेखाउने पक्षमा उभिएको बताए । पुस्तक विमोचनमा महासभाका केन्द्रीय सचिव भीमसेन लिङ्दम, केन्द्रीय सदस्यहरू आइत खजुम, देव सुब्बा लगायत उपस्थित थिए ।

विगत डेढ दशकदेखि याक्थुङ मुन्धुम र इतिहासको खोज, अनुसन्धानमा लागेका तिल्लिङको प्रकाशनको हिसाबले तेस्रो कृति हो । पुस्तकमा याक्थुङ जातिको जन्म, विवाह र मृत्यु संस्कारका विविध पक्षहरू समेटिएको लेखक तिल्लिङ बताए । युमा साम्यो महासभा मलेसियाले प्रकाशन गरेको पुस्तकमा साप्पोक चोमेन९कोख पूजा०देखि इसेम्मा तङसिङ९फराक्लो०सम्मका कुराहरू समावेश भएका छन् । किताब छ खण्डमा विभाजन गरिएको छ । लेखकले यसअघि तिल्लिङ वंशावली र उद्घोषणकलाबारे पुस्तक सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्