इटहरीका गाउँ गाउँमा लैङ्गिक हिंसा विरुद्ध अभियान


सुनसरी, १४ मङ्सिर । इटहरीका गाउँ गाउँमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई  विकेन्द्रित गरिएको छ । अभियानका क्रममा इटहरीका सबै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सबै वडामा गठित किशोरी साथी समूह,प्रतिरक्षा समूह र महिला सञ्जाल सँग वडा वडामा अन्तरक्रिया गरिँदै छ । इटहरीका वडाहरूमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सक्रिय छन् ।

यही क्रममा आज वडा नम्बर १९ र २० मा अन्तरक्रिया सम्पन्न भयो । वडामा लैगिंक हिंसाको अवस्था,चुनौती,साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य,समस्या लगायतका विषयमा अन्तरक्रिया भएको छ ।

२० वटै वडामा अन्तरक्रिया गरेर त्यसैका आधारमा वार्षिक कार्य योजना बनाइने उपप्रमुख गौतमले बत्ताउनुभयो । खुल्ला ठाउँमा दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरेर कार्यक्रम गरिँदै छ ।

१२ देखि २३ गते सम्म अन्तरक्रिया कार्यक्रम गरिने छ ।अपाङ्गता भएकाहरू,बालबालिका र ज्येष्ठ नागरिकका लागि छुट्टा छुट्टै कार्यक्रमहरू तय गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानका क्रममा टोल टोलमा पुग्ने गरी ४० बढी कार्यक्रम आयोजना गरिने छन् ।

उपप्रमुख गौतमले भन्नुभयो “कोरोना छ भनेर चुप लागेर बस्नुहुँदैन,धेरै जना भेला भएर ठुलो कार्यक्रम गर्न भएन,स साना कार्यक्रम बनाएका छौ वडा वडा टोल टोलमा गएर सानो सानो समूहमा कार्यक्रम गरी अभियानलाई विगत वर्ष भन्दा अझ व्यापक बनाउँदै छौ ।

अभियानका क्रममा  न्यायिक समिति संयोजक उपमेयर गौतम,न्यायिक समिति सदस्यहरू,महिला सदस्यहरू,महिला सञ्जाल सहित सबै वडाका टोल टोलमा पुगेर अन्तरक्रिया सुरु गरिएको हो ।

अभियानका क्रममा न्यायिक समितिले गर्ने कार्यहरू उल्लेख गरेर १५ हजार व्रोसर वितरण गरिँदै छ । व्रोसर वाट हिंसामा परेपछि के गर्ने रु कहाँ जाने भन्ने प्रस्ट जानकारी हुने उपमेयर गौतमले बत्ताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्