१३ लाखमा नर्वे जान तयार बेलबारीका तारानाथ, नगरपालिकाको सहयोगमा १४ लाखको ड्राईगन फ्रुट खेती गर्दै


बेलबारी, ८ मंसिर । मोरङको बेलबारी वाड नं. ८ निवासी ४३ वर्षीय तारानाथ सापकोटाले वैदेशिक रोजगारमा नर्वे जानलाई १३ लाख तयार गरेको रकममा एक लाख थप गरी १४ लाख लगानीमा ड्राईगन फ्रुटको खेती सुरु गरेका छन् ।

बेलबारी नगरपालिकाले व्यावसायिक कृषि प्रवर्धन अन्तरगत अनुदानको कार्यक्रम ल्याए पछि सापकोटाले १४ लाख लागतमा १० कट्ठा जमिनमा ड्राईगन फ्रुटको खेती सुरु गरेका हुन । सापकोटा भन्छन्, “नगरपालिकाको पूर्ण रूपमा सहयोग रहेको छ । नगरपालिकाको सर्पोटले गर्दा नै फेरी कृषि पेसा गरेको छु ।” हाल १० कट्ठामा मात्र सुरु गरे पनि व्यावसायिक ड्राईगन फ्रुटको खेतीलाई बृहत् रूप दिने योजना रहेको सापकोटा बताउँछन् । व्यावसायिक ड्राईगन फ्रुटको खेती गर्ने उनी बेलबारीका पहिलो कृषक हुन ।

वैदेशिक रोजगारको १२ वर्षको लामो दुखको अनुभवको साथै ड्राईगन फ्रुटको खेती सुरु गर्न अगाडी पशुपालन गर्दा कतैबाट सहयोग नपाएको सापकोटासँग तितो अनुभव पनि रहेको छ । तर बेलबारी नगरपालिकाद्वारा सहयोग पाउने भए पछि नगरको नै नमुना बनाउने गरी, ड्राईगन फ्रुटको खेती गर्ने योजना बनाएर वैदेशिक रोजगारको मोह त्यागेर कृषि पेसामा लागेका छन् । सापकोटा भन्छन्, ‘बेलबारी नगरपालिकाले यसरी नै सहयोग गरे, कृषकहरू धेरै अगाडी बढ्ने छ ।’

कृषिलाई पहिलो प्राथमिकतामा राखेर बेलबारी नगरपालिकाले कृषकहरूको हितमा व्यावसायिक कृषि प्रवर्धन अन्तरगत अनुदानको कार्यक्रम ल्याएको मेयर ज्ञानेन्द्र सुवेदी बताउँछन् । अनुदान मात्र हैन कामको निग्रानी तथा अनुगमन गर्न समेत किसानको खेती सम्म पुग्ने सुवेदीले बताए । आइतबार तारानाथ सापकोटाले सुरु गरेको ड्राईगन फ्रुट खेतीको औपचारिक उद्घाटन गर्दै युवाहरुलाई रोजगार र उद्यमशील बनाउन पनि कृषिलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको मेयर सुवेदीले बताएका छन् ।

मेयर सुवेदीले भने, ‘कृषि क्षेत्रलाई आधुनीक र औजारीकरणको हिसाबले अगाडी बढ्नु पर्छ ।’ परम्परागत भन्दा आधुनिक कृषिमा लाग्न र किसानलाई फाइदा हुने नयाँ प्रकारको उत्पादन गर्न मेयर सुवेदीको आग्रह रहेको छ । किसानले उत्पादन गरेको बस्तुको बजार व्यवस्थापनको लागि पनि नगरपालिकाले सहयोग गर्ने सुवेदीले बताए ।

सापकोटाले सुरु गरेको ड्राईगन फ्रुटको खेतीमा पुगेका मेयर सुवेदी, नगर प्रवक्ता तथा वाड नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह लगायतलाई स्वास्थ्य तथा स्वादिलो ड्राईगन फ्रुट खुवाएका थिए । नगरपालिकाको व्यावसायिक कृषि प्रवर्धन अन्तरगत अनुदानको कार्यक्रम ड्राईगन फ्रुटको स्वादिलो स्वाद झैँ स्वादिलो र फलदायी हुने स्थानीय किसानहरूको आशा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्