चोरीको बाइक सहित इप्रका बेलबारीद्वारा ५ जना पक्राउ : हराएको २४ थान मोबाइल फेला


बेलबारी, ७ मङ्सिर । इलाका प्रहरी कार्यालय बेलबारीले चोरी भएको एक बाइक सहित ५ जनालाई पक्राउ गरेको छ । इप्रका बेलबारीले चोरी भएको तथा हराएको २४ थान मोबाइल फोन पनि फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

बेलबारी नगरपालिका वडा नं।८ बाट इन्जिन नं. G3J3E0342477 र चेसिस नं. MEI2G445800029737 को ३६ प १०४० नं. को FZS निलो रङको १४९ सिसिको बाइक सहित पक्राउ परेका ५ जनालाई आइतबार पत्रकार सम्मेलन गर्दै इप्रका बेलबारीले सार्वजनिक गरेको हो । सोही पत्रकार सम्मेलनमा चोरी भएको तथा हराएको फेला पारी २४ थान मोबाइल फोन सम्बन्धित धनीलाई इप्रका बेलबारीले हस्तान्तरण गरेको हो ।

भदै २२ गते हराएको बाइक मंसिर ३ गते फेला परेको इप्रका बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषि राज ढकालले जानकारी दिएका छन् । ढकालका अनुसार बेलबारी ८ का पूजन श्रेष्ठले चोरी गरी विशेष भुजेलको सहयोगमा विराटनगर ८ का हाल सुनसरी धरान ३ मा विश्वकर्मा वर्कसप सञ्चालन गर्ने वर्ष २७ का राहुल साहलाई कमिसनमा बेच्न दिएको र निजले उक्त मोरटरसाईकलको इन्जिन नंं., चेचिस नं। र स्वरूप परिवर्तन गरी उत्तर राई र गगन ध्वज राईलाई बेचेका थिए । उत्तरले कुदाउँदै गरेको अवस्थामा सुन्दरहरैचा २ बाट बरामद गरेको ढकालले बताए । पक्राउ परेका ५ अभियुक्तलाई चोरी मुद्दामा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको ढकालले जानकारी दिएका छन् ।

विभिन्न मितिमा हराएको मोबाइल खोजतलासको लागि निवेदन परेको आधारमा २४ थान मोबाइल फेला पारेको ढकालले बताए । ढकालका अनुसार मोबाइल खोजतलास गर्ने डेस्क नै इप्रका बेलबारीले स्थापना गरेका छन् । ढकालको नेतृत्वमा अहिले सम्म ४१ थान मोबाइल फेला परेको र निवेदन अनुसार हराएको तथा चोरी भएको थप मोबाइलको समेत खोजी कार्य भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्