जसपा का सांसदहरुलेनै प्रदेश ५ को पहिचान नामाकरण विरुद्ध मतदान


काठमाडौँ , २१ असोज । जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले नै प्रदेश ५ को नामाकरण गर्दा ‘थरुहट–अवध–मगरात’ प्रदेशविरुद्ध मतदान गरेका छन् ।

प्रदेशको नाम लुम्बिनीमा ७८ मत खस्यो भने थरुहट–अवध–मगरातमा चार मत खस्यो । मंगलबार प्रदेश ५ को नाम र राजधानीको विषयमा प्रदेशसभामा मतदान हुँदा जसपाका ६ सांसद (सहसराम यादव, पुरमती ढेगा, विजय यादव, सुमन रायमाझी, सन्तोष पाण्डे, कल्पना पाण्डे)मध्ये दुई जनाले थरुहट–अवध–मगरातको विपक्षमा मतदान गरेका हुन् । जसपाका सांसद सन्तोष पाण्डे र कल्पना पाण्डेले पार्टीले प्रदेशसभामा दर्ज गरेको थरुहट अवध मगरात प्रदेशको विपक्षमा मतदान गरेका हुन् ।

८७ सांसद रहेको प्रदेशसभामा मंगलबार ८२ जना सहभागी थिए । कुर्सी टेबल तोडफोड गर्ने कांग्रेसका ५ जना सांसद कारबाहीमा परी अनुपस्थित थिए ।

जसपाको प्रदेश ५ को संसदीय दलको बैठकले प्रदेशको नाम थरुहट–अवध–मगरात र राजधानी दाङको भालुवाङको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

प्रदेशसभामा राजधानी भालुवाङको पक्षमा ६९ मत परेको थियो, बुटवलको पक्षमा १३ मत परेको थियो ।
प्रदेश ५ का जसपाका नेता नविन सुनुवारले विषयलाई लिएर आजै संसदीय दलको बैठक बस्ने बताएका छन् ।
उनले पार्टीको नीति विरुद्ध जाने सरिता गिरीलाई पार्टीले कारबाही गर्छ भने सन्तोष पाण्डे र कल्पना पाण्डेलाई किन कारबाही नगर्ने ? भनी प्रश्न गरे ।

‘सरिता गिरीलाई कारबाही हुन्छ भने सन्तोष पाण्डे र कल्पना पाण्डेलाई किन कारबाही नहुने ? उनको भनाइ छ, ‘पार्टीको निर्णय मान्दैन भने कि त स्वतन्त्र सांसद हुनुपर्यो, पार्टीबाट सांसद हो भने पार्टीको निर्णय मान्नुपर्छ ।’
उनले सन्तोष पाण्डेलाई यसअघि पनि पार्टीले स्पष्टिकरण सोधिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्