उपमेयर पराजुलीद्वारा लिखित गीतको रेकर्डिङ सम्पन्न : चाडै सार्वजनिक हुने


बेलबारी, १८ असोज। बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्वारा लिखित गीत “घाम लाग्यो घमाइलो” गीत आज रेकर्डिङ भएको छ । द पिक स्टुडियो काठमाडौँमा रेकर्ड भएको उक्त गीत नेपालीहरूको महान् पर्व दसैँसँग सम्बन्धित रहेको छ ।

उपमेयर पराजुलीको रचना रहेको उक्त गीतमा सङ्गीतकार भीम बस्नेतको सङ्गीत रहेको छ भने स्वर बेलबारी पहिलो आइडल सुमधुर स्वरका धनी विवेश मोते र वर्तमान समयकी चर्चित गायिका रचना रिमालको रहेको छ ।

गीतलाई एरेन्जर राजवाहकले एरेन्ज गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र “महानायक” को यो दसैँ गीत आज द पिक स्टुडियो काठमाडौँमा रेकर्डिङ भएको छ ।

श्रोताहरूको मागलाई मध्यनजर गर्दै दुई तीन दिन भित्रै “घाम लाग्यो घमाइलो” गीत बजारमा ल्याइने निर्देशक भीम लामाले बताए । बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमाल दुवै सङ्गीत क्षेत्रमा सम्भावना बोकेका गायक गायिका हुन् ।

निर्देशक लामा भन्छन्,‘दुवै यो समयका शक्तिशाली गायक गायिका भएकै कारण पनि यो गीत सुन्दर र सफल बन्ने छ र श्रोताहरूको भरपुर माया पाउने छ भन्ने कुरामा म ढुक्क छु ।’ गीत चाडै सार्वजनिक गर्ने लामाले बताएका छन् ।

आम श्रोताहरूको माया प्रेमले मात्र प्रतिभाशाली गायक गायिकालाई समेत यस क्षेत्रमा थप स्थापित हुन सहयोग पुग्ने उपमेयर पराजुलीले बताइन ।’

प्रतिक्रिया दिनुहोस्