जनता समाजवादी पार्टीमा प्रवेश गर्नेको लहर


काठमाडौँ , १० असोज / नेपाली काँग्रेसका प्रभावशाली नेता गम्बु शेर्पासहित  जनता समाजवादी पार्टी, नेपालमा शनिवार ३५५ जनाभन्दा बढी प्रवेश गरेको छ । काठमाडौँको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिका–६ फेदीका गम्बु शेर्पासहित ३५५ जनाभन्दा बढी नेता कार्यकर्ताहरू जसपामा प्रवेश गरेका हुन।
नेपाली काँग्रेस निकट रहेका गम्बु शेर्पा ओखलढुङ्गाकै प्रभावशाली नेतासँगै गायक तथा कलाकार समेत रहेका शेर्पा जसपामा प्रवेश गरेका छन् । ओखलढुङ्गाबाट मात्र २०० जनाभन्दा बढी जसपामा प्रवेश गरेका छन् ।
यसै गरी सोलुखुम्बु, रामेछाप, दोलखा, काठमाडौं, खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजुङका युवा तथा कार्यकर्ताहरू एकसाथ जसपामा प्रवेश गरेका छन् ।
जस पाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी समिति सदस्य डम्बर खतिवडा लगायतका नेताहरूद्वारा नवप्रवेशीहरुलाई स्वागत गरिएको छ ।
वरिष्ठ नेता राईले खादा लगाइदिएका थिए भने, अध्यक्ष यादवले सदस्यता पत्र प्रदान गरेका थिए, राजेन्द्र श्रेष्ठले अबिर लगाइदिएर स्वागत गरेका थिए । कोभिड–१९ बाट बच्नका लागि भौतिक दुरी कायम गर्दै मास्क लगाएका कार्यक्रम भएको थियो ।
कार्यक्रममा जसपाका अध्यक्ष यादव, वरिष्ठ नेता राई, नेता राजेन्द्र श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । अध्यक्ष यादवले विभिन्न जाति र समुदायको पहिचान नामेट पार्न राज्य नै सयौँ वर्षदेखि लागिरहेकोले आफ्नो अस्तित्व बचाउन पहिचानको आन्दोलनमा लाग्न आग्रह गरे ।
उनले पहिचानसहितको संघीयताले मात्र नेपालको विविधतालाई सम्बोधन गर्ने बताए । उनले नेपालका सबै जाति र समुदायको भाषिक, सांस्कृतिक पहिचान र माग सम्बोधन गर्न सके मात्र राष्ट्रिय एकता बलियो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्