मोरङमा देशकै पहिलो `जिल्ला न्यायिक सञ्जाल´ गठन


 बेलबारी , १० असोज / मोरङ जिल्लामा देशकै पहिलो `जिल्ला न्यायिक सञ्जाल´ गठन भएको छ । उच्च अदालत मोरङका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रदेश नं १ प्रदेश सरकारका महान्यायाधिवक्ता चूडामणि आचार्य संरक्षक रहेको उक्त सञ्जालको संयोजक जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश मेदिनी प्रसाद पौडेल रहेका छन्।
जिल्ला सञ्जालमा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की उपाध्यक्ष एवम् जिल्लाका १७ वटा स्थानीय तहका उपप्रमुखहरू सदस्य रहेका छन्। यसै गरी फोकल पर्सनको रूपमा उच्च अदालत मोरङका शाखा अधिकृत ओम सुवेदी र जिल्ला अदालत मोरङका शाखा अधिकृत युवराज पौडेल रहेका छन्। न्याय सम्पादनको कार्यलाई थप प्रभावकारी बनाई न्यायसम्म आम जनताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले मोरङ जिल्लास्थित उच्च अदालत ,जिल्ला अदालत, मुख्य न्यायाधिवक्ता कार्यालय, स्थानीय तहका न्यायिक समितिहरू बिच समन्वय सहकार्य र सहयोगको वातावरण निर्माण गर्न वाञ्छनीय भएकाले उक्त न्यायिक सञ्जाल गठन गरिएको उच्च अदालत मोरङका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले बताए ।
मोरङ जिल्ला न्यायिक सञ्जाल गठनपछि न्याय सम्पादन प्रक्रियालाई जिल्ला भर एकरूपता कायम गर्ने,पालिकाहरू बिच आपसी अनुभवहरू आदानप्रदान गर्ने,अदालतबाट भएका फैसलाहरू कार्यान्वयन निम्ति सहयोग समन्वय गर्ने लगायतका विभिन्न आवश्यक साझेदारी ताको सुरुवात गरिने प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले बताए ।
उच्च अदालत मोरङ र बेलबारी नगरपालिका न्यायिक समितिको संयुक्त आयोजना आयोजित कार्यक्रमको अध्यक्षता प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले गरेका थिए।उच्च अदालत मोरङका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीले राखेकी थिइन्।
जिल्ला न्यायिक सञ्जाल गठन हुनुले आफूहरूलाई न्याय सम्पादन कार्यमा थप सहयोग पुग्ने र काम गर्ने थप उत्साह थपिएको भन्दै स्थानीय तहका उपप्रमुख उपाध्यक्षहरूले उच्च अदालत मोरङ र प्रदेश १ मुख्य न्यायाधिवक्ता कार्यालयलाई धन्यवाद दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्