महोत्तरीमा नागरिक समाजका अगुवा र कर्मचारीबीच द्वन्द्व 


महोत्तरी, २ असोज । महोत्तरीको जलेश्वर नगरपालिकामा नागरिक समाजका अगुवा र कर्मचारीबीच द्वन्द्व शुरु भएको छ ।
नागरिक समाजका अगुवाहरुले जलेश्वर नगरपालिकाका नाला, सडक, शहिद गेट र पर्खाल निर्माण, सडकमा बत्ती जडान, कोरोनाको नाममा आएको सहयोग र गरिएको खर्च, गत वर्षमा बाढीको नाममा भएको राहत वितरण, कर्मचारी भर्ना उपभोक्ता समिति निर्माण र मोटरसाइकल खरिद प्रक्रियामा भएको भ्रष्टाचार तथा अनियमितताको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजूरी दर्ता गराएपछि द्वन्द्व शुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको १७ बुँदे मागसहित आन्दोलनमा उत्रेका नागरिक समाजका अगुवाहरुले विभिन्न वडाका योजनाहरू, कृषि सिँचाइ, सडक मर्मत, पिसिसी ढलान, पशुसेवा र बालमैत्री कार्यक्रम, मिथिला सांस्कृतिक प्रवर्द्धन, खुला दिसामुक्त कार्यक्रम, चौक सौन्दर्यकरण तथा भ्यु टावर निर्माणलगायत क्षेत्रमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।
नगरपालिकाले पत्रकार सम्मेलन गरी कुनै आर्थिक अनियमितता नभएको तथा आर्थिक अनुशासन र कानुनको परिधिभित्रै रहेर रकम खर्च गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुझाएको १७ बुँदे मागको जवाफ एक महिनाभित्र उपलब्ध नगराइए चरणबद्ध आन्दोलनमा जाने निर्णय नागरिक समाजका अगुवाहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्