बागदेवी सामुदायिक वनको २० वर्षे यात्रा


केशु विरही, बेलबारी, मोरङ / मोरङको बेलबारीमा रहेको बागदेवी सामुदायिक वनले विभिन्न आरोह अवरोह पार गर्दै आफ्नो २० वर्षे यात्रा पूरा गरेर २१ वर्षमा प्रवेश गर्न सफल भएको छ ।

वि.स. २०५६ सालमा स्थापना भएको यो सामुदायिक वन २०६६ सालमा जिल्ला वन कार्यालय मोरङमा विधिवत रूपमा दर्ता भई २०७२ साल असार ३१ गतेबाट वैज्ञानिक वन व्यवस्थापन मार्फत उपभोक्ताहरूमा हस्तान्तरण भएको देखिन्छ । यस सामुदायिक वनलाई आजको यो अवस्थामा ल्याउनमा संस्थापकहरू, कार्य समितिका पदाधिकारीहरू, लेखा तथा सुपरिवेक्षण समिति, अनुगमन तथा सल्लाहकार समिति, कर्मचारी तथा आम उपभोक्ताहरूको उतिकै योगदान रहेको छ ।

पूर्व पश्चिम राजमार्गको लालभित्ती खण्डबाट करिब डेढ किलोमिटरको यात्रा पश्चात् पुग्न सकिने यस सामुदायिक वनले स्वास्थ्य –शिक्षा, आयआर्जन तथा व्यक्तित्व विकास लगायतका विभिन्न प्रकारका तालिम तथा गोष्ठीहरु सञ्चालन गर्दै आएको छ । यस समूहले समय समयमा आफ्ना पदाधिकारी तथा उपभोक्ताहरूका लागि विभिन्न स्थानको अवलोकन भ्रमण पनि सञ्चालन गर्दै आएको । गत वर्ष मात्र सप्तरी जिल्लामा रहेको महुली सामुदायिक वनको अवलोकन भ्रमण गरेकोमा संस्थाले यस वर्ष मोरङ, इलाम तथा झापाका विभिन्न सिमसार सामुदायिक बनहरूको अवलोकन भ्रमण गराएर पदाधिकारी तथा उपभोक्ताहरूलाई प्रत्यक्ष तथा व्यवहारिक ज्ञान प्रदान गराएको थियो ।
यस संस्थाले अघि सारेको बासुकी रिचार्जपोण्डको परियोजनाको पहिलो चरणको ड्याम निर्माणको कार्य समाप्त भइसकेको छ । सुकुना सामुदायिक वन सुन्दरहरैचाको सहकार्यमा सो कार्य सम्पन्न भए पनि यसको अवधारणा ल्याउनेमा श्रेय भने बागदेवीलाई नै जान्छ । बागदेवीले यो परियोजनाको परिकल्पना मात्र गरेन परियोजनालाई राष्ट्रपति चुरे कार्यक्रम मार्फत बजेट पार्नमा समेत सफल भूमिका निभाएको देखिन्छ ।

त्यसो त योजना निर्माण तथा बजेट आदिमा बागदेवीले ठुलो भूमिका निभाए पनि परियोजना सञ्चालन र त्यसको पूर्णतामा भने छिमेकमा रहेको साझेदार वन सुकुना सामुदायिकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको कुरालाई नकार्न मिल्दैन । दुवै सामुदायिक वनको समान सहभागितामा यो परियोजना आजको अवस्थामा आउन सफल भएको छ । र भविष्यमा पनि सोही अनुसारको सहभागिताको आसा लिएको छ बागदेवीले बासुकी परियोजनालाई एउटा ड्रिम परियोजनाको रूपमा लिएको छ । यो परियोजना पूरा गर्न सकेमा बासुकी एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने र पर्यटनमार्फत दुवै सामुदायिक वनका उपभोक्ताले राम्रो आम्दानी लिन सक्ने कुरामा बासुकी रिचार्जपोण्ड निर्माण उपभोक्ता समितिका सचिव एवम् बागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्र बहादुर थापा ढुक्क छन् ।

यस वनले आफ्नो कार्ययोजनामा रहेका कामका अतिरिक्त वनको हैसियत बढाउन, वन समूहको आम्दानी बढाउने देखि लिएर सामुदायिक विकास कार्यक्रमको माध्यमबाट यस समूह तथा समुदाय क्षेत्रका उपभोक्ताहरूको आर्थिक हैसियत वृद्धि गर्न टेवा पुर्‍याउने कार्यहरू पनि गर्दै आएको छ । यी कार्यहरूले वनद्वारा प्रस्ताव गरिएका थिनिङ, सुधारात्मक कटान तथा महिला स्वास्थ्य लगायतका कार्यक्रमहरू सम्पादन गर्नमा थप सहगोगी हुनेमा पनि उपभोक्ता समिति अस्वस्थ रहेको छ ।

बागदेवी सामुदायिक वनको दसौँ साधारण सभा

बागदेवी सामुदायिक वनले यही मङ्सिर ८ गते शनिवारका दिन एक भव्य कार्यक्रमका आफ्नो १० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बेलबारी नगरपालिका वार्ड नं –२ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा सम्पन्न साधारणसभाको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गर्नु भएको थियो ।
सो उद्घाटन सभामा बेलबारी नगरपालिका वार्ड नं –२ का वडाध्यक्ष घनश्याम गौतम, नगरकार्यपालिका सदस्य खिना थापा, सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला अध्यक्ष एवम् प्रदेश नं १ का सचिव अग्नि पौडेल, सेक्टर वन कार्यालय सलकपुरका रेन्जर विजय प्रजा, इलाका वन कार्यालय खोर्सानेका प्रमुख रुद्रप्रसाद यादव, सामुदायिक वन उपभोक्ता महासङ्घ बेलबारी नगर संयोजक देवीप्रसाद पोखरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सिताराम न्यौपाने, नेपाली काङ्ग्रेसका कमल सुब्बा, गोल्डेन भ्यूजर तथा शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जङ्ग थापाको सहभागिता रहेको थियो ।

साथै शिक्षा सन्देश ई स्कुलका प्रिन्सिपल राजेश खत्री, सिंहदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबहादुर कार्की, प्रत्यक्ष बचत तथा ऋण सहकारी बेलबारी –२ का अध्यक्ष रामकुमारी राई, रमिते सामुदायिक वनका कोषाध्यक्ष नरहरि भण्डारी, संरक्षण बचत तथा ऋण सहकारीका कमला निरौला, तिनघरे टोल विकास संस्थाका अध्यक्ष करण धिमाल, लक्ष्मी टोल विकास संस्थाका अध्यक्ष उद्धव दङ्गाल, सिंहदेवी टोल विकास संस्थाका थानेस्वर नेपाल, ज्योति टोल विकास संस्थाका अध्यक्ष माधव निरौला, आदिको सहभागिता रहेको थियो ।

साथै सो अवसरमा बागदेवीका पूर्व अध्यक्षहरू क्रमशः कविन्द्र धिमाल, नरेन्द्र बस्नेत र अमृत गुरुङको पनि सहभागिता रहेको थियो ।
दसैँ साधारणसभाको उद्घाटन पश्चात् प्रमुख अतिथि एवम् बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बागदेवी सामुदायिकले चालेका योजनामध्ये बासुकी रिचार्ज पोण्डको परियोजना महत्त्वपूर्ण भएको र त्यस्ता जनतासँग प्रत्यक्ष सम्बन्ध जोडिएका योजनामा नगरपालिका सधैँ साथमा रहेको बताउनुभयो ।
साथै उहाँले सामुदायिक वनलाई सामाजिक तथा पूर्वाधारका क्षेत्रमा नगरपालिकासँग मिलेर काम गर्न पनि आग्रह गर्नुभएको थियो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला अध्यक्ष एवम १ नं प्रदेशका सचिव अग्नी पौडेलले सामुदायिक वनले उद्यममुखी भएर अघि बढ्नु पर्नेकुरामा जोड दिएका थिए । साथै उनले सामुदायिक वन उपभोक्ता समितिले वितरण गर्ने सुविधाहरूमा समतामूलकता अपनाउन पनि आग्रह गरे । बागदेवी सामुदायिक वनका उपाध्यक्ष थानेश्वर नेपालले सो कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । बागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्र बहादुर थापाले बजेट तथा आगामी वर्षका लागि योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सचिव भीमा मगरले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामबहादुर थापाले आर्थिक तथा संयोजक शिवकुमार रुपाखेतीले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पेस गरेका थिए ।सो कार्यक्रममा संस्थापक तथा पूर्व अध्यक्षहरू क्रमशः कविन्द्र धिमाल,नरेन्द्रबहादुर बस्नेतर अमृत गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै उपभोक्ता घरधुरीमध्येबाट उच्च शिक्षा अध्ययनरत विभिन्न पाँच जना छात्र छात्रालाई जनही १० हजारका दरले विपन्न तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको थियो ।

त्यसै गरी गोठमा व्यवस्थित रूपमा बाख्रा पालेर खुल्ला चरिचरनलाई निस्तेज पारी वन संरक्षणमा प्रत्यक्ष सहयोग पुर्‍याउने विभिन्न ७ जना उपभोक्ता घरधुरीलाई पनि साधारणसभाको अवसरमा नगदले पुरस्कृत गरिएको थियो । त्यस्तै दसौँ साधारणसभाकै दिन चोरी तस्करी निषन्त्रणमा योगदान दिने विभिन्न १२ जनालाई जनही १ हजारका दरले पुरस्कृत तथा डढेल्लो नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निभाउने विभिन्न ३८ जना उपभोक्तालाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

बागदेवी सामुदायिकका अध्यक्ष फणिन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका कार्य समिति सदस्य विनोदप्रसाद नेपालले गरेका थिए ।
साथै उक्त दिन खुल्ला सत्रमा प्रस्तुत भएका प्रतिवेदनलाई बन्द सत्रमा व्यापक छलफल गरेर संशोधन सहित पारित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्