गरिबीमा मृत्युवरण अशोक दर्जीको परिवारलाई राहत सामग्री जुट्दै


मणिराम दाहाल – सुन्दरहरैंचा, ३० भदौ । मोरङको सुन्दरहरैंचा १० सुकुम्वासी टोलमा कोरोना कहरका कारण भएको लामो बन्दको प्रभावले दैनिक ज्यालादारी गरेर हातमुख जोर्न समस्या भए पछि आत्महत्या गरेका अशोक दर्जीको गरिब परिवारमा सहयोग तथा राहत सामग्री जुट्न थालेको छ ।

सोमबार निर्माण व्यवसायी संङ्घ मोरङको एक टोली विराटनगरबाट आएर अति गरिब दर्जीको परिवारलाई रु.८४ हजार ५ सयका साथमा आवश्यक खाद्य सामग्री चामल राहत स्वरूप हस्तान्तरण गरिएको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा सांसद जिपछिरीङ्ग लामाबाट पठाएको रु ५० हजार तथा निर्माण व्यवसायी संघ मोरङ विराटनगरका तर्फबाट रु १५ हजार साथै संङ्घका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूबाट रु १९ हजार ५ सय गरी संयुक्त रूपमा दर्जीको परिवारलाई हस्तान्तरण गरिएको सङ्घका मोरङ जिल्ला अध्यक्ष सुरेश सुवेदीले बताए । उक्त राहत सामग्री हस्तान्तरणको कार्यक्रममा वडाध्यक्ष राजेन्द्रबहादुर थापा, दलित उत्थान समन्वय समितिका अध्यक्ष कुमार मिजार, महासचिव माधव सिवा लगायतको सहभागिता रहेको थियो ।

त्यसै गरी चरम गरिबीका कारण परिवार पाल्न समस्या भए पछि आत्महत्या गरेका अशोक दर्जीको परिवारलाई दलित एकता सञ्जाल नेपाल साउदीको समितिबाट समेत सहयोग प्राप्त भएको छ । साउदीमा वैदेशिक रोजगारीमा रहेका सज्जालका अध्यक्ष देवेन्द्र विश्वकर्मा तथा डिके दर्नाल बाट संयुक्त रूपमा रकम उठाएर नगद तथा राहत सामग्री उपलब्ध गराइएको थियो ।

साउदीबाट आएको रु ७० हजार मध्ये दर्जीको पीडित परिवारलाई १२ हजारको आवश्यक सामग्री तथा रु ८ हजार नगद हस्तान्तरण गरिएको दलित एकता सञ्जाल नेपाल प्रदेश १ का उपाध्यक्ष दुर्गा नेपालीले बताइन । साथै उनले साउदीमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका बेलवारीका नबिल बस्यालको परिवारलाई केही खाद्यान्न सहित रु.५० हजार बैक खातामा जम्मा गरेर पीडित परिवारलाई सहयोग गरेको समेत उल्लेख गरिन ।

कोरोना कहरका कारण दैनिक ज्वालादारी गरेर हात मुख जोर्न र ६ जनाको परिवार पाल्न समस्या भए पछि आत्महत्या गर्न पुगेका सुन्दरहरैंचाका अशोक दर्जीको परिवारलाई अहिले विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग गरिरहेका छन् । दर्जीको आत्महत्या पछि बिचल्लीमा परेका परिवारलाई सुन्दरहरैंचा उद्योग वाणिज्य संङ्घ, नारी विकास संघ विराटनगर तथा दलित उत्थान समन्वय समिति सुन्दरहरैंचाले पनि सहयोग गरेको छ ।

दर्जीको परिवारमा पिडा माथि पिडा : बिचल्ली परेका परिवारलाई सहयोग गर्न अपिल

दर्जी लामो समय देखि जीविका उपार्जनको लागि ठेला चलाउँदै आएका व्यक्ति थिए । अन्य मजदुरीको काम समेत गर्दै आएको भए पनि लामो समयको बन्द र लकडाउनले उनको मजदुरीमा पटक पटक संकट देखा परेकोले आर्थिक कठिनाइको पिर सहन नसकेर आत्महत्या गर्न पुगेको अनुमान गरेको स्थानीयहरूको भनाइ छ ।

दर्जीको परिवारमा श्रीमती दिलमाया दर्जीको साथमा ३ छोरी र १ छोरा रहेका छन् । १ छोरी शारीरिक रूपमा अशक्त रहेकी छिन । श्रीमती वैदेशिक रोजगारीका लागि जाने क्रममा भारतमा अलपत्र अवस्थामा रहेकी छन् । दर्जीको परिवारमा अहिले पिडा माथि पिडा थपिएको छ । ऊनलाई स्वदेशमा ल्याउन स्थानीयले पहल गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएर परिवार पाल्न समस्या भै अति गरिबिका कारण आत्महत्या गर्न पुगेका अशोक दर्जीको परिवारलाई सहयोग गर्नका लागि विभिन्न प्रकारका सामाजिक सञ्जाल मार्फत अपिल समेत गरिएको छ । दर्जीको घर समेत निर्माण गर्दा गर्दै आर्थिक अभावका कारण अधुरो अवस्थामा रहेको छ । ससाना छोराछोरीको विचल्नी भएकोले लालनपालन, शिक्षादीक्षा र आवश्यक हेरविचारमा सम्बन्धित सरोकार वालाले अझै पहल गर्नु पर्ने देखिन्छ ।

विभिन्न सञ्चार माध्यमले अति गरिबिका कारण दर्जीले गरेको आत्महत्या तथा पीडित परिवारलाई सहयोग गर्नु पर्ने समाचार प्रकाशित गरेका थिए । कोसीनेपाल डटकमले पनि समाचारलाई प्राथमिकताको साथमा स्थान दिएर प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्