श्रीमती र छोराको हत्यापछि अधिकारीले गरे आत्महत्या


भक्तपुर, २७ भदौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा श्रीमती  र  छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको निष्कर्ष नजिक प्रहरी पुगेको छ । घटनामा उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको सुतेकै ठाउँमा हत्या गरी ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको छ ।

दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो । शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनिलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो ।

‘पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो, भित्तामा समेत रगतको छिर्का देखिएको थियो’, अनुसन्धानमा संलग्न एक अधिकृतल भने, ‘फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको थियो ।’ घरमा रहेको दाउ जस्तो धारिलो हतियार प्रयोग गरेर आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार दुवै जनाको शव सडिसकेको अवस्थामा भेटिएको थियो । त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको अधिकारीहरुको भनाइ छ । यद्यपि, यसबारे यकिन विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुनेछ ।

प्रहरीले परीक्षणका लागि खानेकुरालाई पनि प्रयोगशालामा पठाउने तयारी गरेको छ । प्रहरीका अनुसार भ¥याङमा कुकुर पनि मृत भेटिएको छ । कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

घटनाको कारण घर बैंकले लिलाम गर्ने तयारी गरिरहेको आफन्तले जानकारी दिएका छन् । यस विषयमा पनि प्रहरीले बुझिरहेको बताएको छ । घर नै बैंकले लिलाम गर्ने तयारी गरेपछि घरमा झगडा बढ्दै पाइएको छ । दुई लाख रुपैयाँ ससुरालबाट लिएको ऋण पनि तिरेका थिएनन् ।

सुदीप घरको काम नगर्ने रक्सी खाने, तास खेल्ने र खाली बाहिरै हिंड्ने गरेको र त्यही कारण घरमा झगडा भइरहने गरेको स्थानीय र आफन्तले जानकारी दिएका छन् । झगडा हुँदा आमा–छोरा एकातिर र सुदीप अर्कोतर्फ हुने गरेको पाइएको छ ।

सुदीपका भाइले भनेका छन्, ‘छोरो पढाउनु पर्ने, किन लत्तो छाडेको, काम गर्नु भनेर भाउजूले सधैँ कराइरहनु हुन्थ्यो ।’ ससुरालीको २ लाख ऋणको विषयमा पनि उनीहरुबीच झगडा पथ्र्यो । यिनै कारण झगडा बढ्दै गएको र परिवार नै सखाप हुने अवस्थामा पुगेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्