राष्ट्रिय आविष्कार केन्द्रमा कोरोना सङ्क्रमितलाई अस्पतालमा पुर्‍याउने बाकस निर्माण


बागलुङ, २५ भदौं । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस सङ्क्रमितलाई अस्पतालमा पुर्‍याउने बाकस निर्माण गरेको छ ।

खोज, अनुसन्धान र आविष्कारका क्षेत्रमा कार्यरत सो संस्थाले पछिल्लो पटक कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणकालागि सङ्क्रमितहरुलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजान बाकस निर्माण गरेको हो ।

बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई कोरोना सङ्क्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको केन्द्रका अध्यक्ष महावीर पुनले बताएका छन् । उनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पूरा भएकोले बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर फ्याल्न ब्याट्रीबाट चल्ने पङ्खा जडान गरिएको छ । बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको बताइएको छ ।

केही दिनभित्रै कोभिड(१९ को उपचार गर्ने अस्पताललाई यो बाकस उपलब्ध गराइने अध्यक्ष पुनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्