अभिनेता सुशान्तसिंह आत्महत्यामा प्रेमिका रिया पक्राउ


काठमाडौं, २४ भदौं । बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्यामा सुशान्तकी प्रेमिका रिया चक्रवतीलाई कन्ट्रोल ब्युरो (एनसिबी) ले पक्राउ गरेको छ ।

प्रेमिका रियालाई लगातार तीन दिनसम्म सोधपुछ गरेपछि राजपूत आत्महत्याको ८४ दिनपछि एनसिबी ले मंगलबार सुशान्तकी प्रेमिका रियालाई हिरासतमा लिएको हो ।

भारतीय मिडियाका अनुसार मंगलबार रियाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ । रियाले आफूलाई छुटाउन तत्काल जमानतको अपिल गर्न सक्छिन् । तर, एनसिबी उनको जमानत नगराउने पक्षमा छ । यसको निर्णय अदालतबाट हुनेछ । जमानत रद्द भए रियालाई थप अनुसन्धानका लागि जेल पठाइनेछ ।

यदि रियाले जमानतका लागि अदालतमा अपिल नगरे उनी एनसिबीको नियन्त्रणमै रहने छिन् । जमानत मिलेमा घर जान सक्छिन् । एनसीबीले उनलाई प्रहरीको हिरासतमा नभई १४ दिन न्यायिक हिरासतमा राख्न माग गरेको थियो भने रियाको वकिलले भने जमानतमा रिहा गर्न माग गरेको थियो ।

सोमबार रियाका भाइ सोविक चक्रवती र सुशान्तको घरका म्यानेजर सामुअल मिरान्डासँग पनि एनसिबीले बयान लिएको थियो ।

दुवै अहिले एनसिबीको हिरासतमै छन् । सोमबार रियाले एनसिबीसमक्ष आफूले लागुऔषध कारोबार गरेको स्वीकार गरेकी थिइन् । उनले सुशान्तकै निर्देशनमा सबै काम गरेको बताएकी थिइन् ।

बिहारका डिजिपी गुप्तेश्वर पाण्डेले सुशान्त आत्महत्याको मुद्दामा रियाविरुद्ध थुप्रै प्रमाण एनसिबीले फेला पारेको दाबी गरेका छन् । रियाका वकिलले भने सुशान्त पहिलादेखि नै लागुऔषध सेवन गर्ने व्यक्ति भएको बताएका छन् । मानसिक तनावबाट मुक्ति पाउनकै लागि सुशान्तले लागुऔषध वर्षौंदेखि प्रयोग गरेको उनको दाबी छ ।

यसैबीच, सुशान्तकी बहिनी प्रिया सिंहले वान्द्रा प्रहरीमा रिया र दिल्लीको राममनोहर अस्पतालका डा.तरुण कुमारविरुद्ध एफआइआर दर्ता गरेकी छिन् ।

प्रियाले दर्ता गरेको एफआइआरमा व्यक्तिलाई आत्महत्या गर्न उक्साएको र आपराधिक क्रियाकलापमा संलग्न बाध्य पारेको जनाएकी छिन् । डा. तरुण कुमारले परिवारको सल्लाहविना केवल रियाकै निर्देशनमा सुशान्तलाई ‘डिप्रेसन’को औषधि दिएको आरोप सुशान्तकी बहिनी प्रियाले लगाएकी छिन्

प्रतिक्रिया दिनुहोस्