मिथिला क्षेत्रमा ‘जितिया पर्व आजबाट शुरु


महोत्तरी, २४ भदौँ । मिथिला क्षेत्रबाट आजदेखि पवित्र ‘जितिया पर्व’ धार्मिक विधि अनुसार शुरु भएको छ ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।

व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी भोलि बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी शुक्रबार बिहान व्रत सम्पन्न गर्नेछन् । यसपटक आज राति १० बजेभन्दा अगाडि नै व्रतीहरुले खानुपर्ने सबै खानेकुरा खाइसक्नुपर्छ र भोलि बिहान केही खाँदैनन् ।

उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन व्रत बस्नु अघिल्लो दिनमै (आज) बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ ।

प्रतिक्रिया दिनुहोस्