पत्रकारको नक्कली परिचय–पत्र बनाउने चार जना पक्राउ


काठमाडौँ ,२३ भदौँ । पत्रकारको नक्कली परिचय–पत्र बनाएर बेच्ने चार जनालाई काठमाडौँको बागबजारबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु नवलपरासी पश्चिमको सुस्ता बर्दघाट नगरपालिका–१३ का ३५ वर्षीय लक्ष्मण न्यौपाने, बर्दियाको राजापुर नगरपालिका–१० का २३ वर्षीय श्रीराम खड्का, नवलपरासी पूर्वका कावासोती नगरपालिका–८ का २९ वर्षीय रमेशकुमार रेग्मी र स्याङजाको जगत्रदेवी गाउँपालिका–९ का ३९ वर्षीय राजेन्द्रराज भण्डारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

काठमाडौं नै बसोबास गर्ने उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरिएको हो । उनीहरुको साथबाट विभिन्न मिडियाका १० थान परिचय–पत्र, विभिन्न अस्पतालका १५ थान परिचय–पत्र, कटर मेसिन, स्क्यानर, कम्युटर, प्रिन्टरलगायत सामान पनि फेला परेको छ ।

कोरोना महामारीको बेला पत्रकारहरुलाई निर्वाध रुपमा हिडडुल गर्न दिइने हुँदा एउटा परिचय–पत्र ५ सय रुपैयाँभन्दा बढीमा बिक्री गर्ने गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्