मणिराम दाहाल –
सुन्दरहरैंचा , २२ भदौ । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नो ४४ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न स्थानमा वृक्षारोपण साथै नगर वासीलाई खाद्यान्न तथा लता कपडा वितरण गरेका छन् ।
नगरप्रमुख ढकालले विभिन्न स्थानमा रहेको कार्यक्रममा आफै उपस्थित भएर परिवार सहित आफ्नो जन्मोत्सव पहिलो पटक नगरवासीको साथमा सामाजिक कार्य गर्दै मनाएका छन् । उनले नगरको वडा नं ९ मा रहेको सिराजुल उलुम मावीमा गएर आफ्नो निजी लगानीमा अति विपन्न मुस्लिम समुदायका ४४ जना वृद्धबृद्वाहरुलाई लता कपडा , फलफूल वितरण गरेका हुन ।
साथै सो अवसरमा प्रमुख ढकालले नगरको वडा नं ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रमलाई समेत विभिन्न सामाग्री दिने घोषणा गरेका छन् । उनले वडा नं ५ मा रहेको वृन्दावन गौशालामा विभिन्न जातका फलफूलका बिरुवा, खाद्यान्न तथा डस्विन त्यहाँका संरक्षण दिनबन्धु शास्त्री मार्फत हस्तान्तरण गर्नुका साथै उनले आफै हाँसीखुसीका साथमा वृक्षारोपण समेत गरेका थिए ।
आफ्नो ४४ औँ जन्मोत्सवमा ४४ जनालाई खाद्यान्न सामाग्री वितरण गर्नुका साथै ४४ वटा विभिन्न जातका बिरुवा समेत रोपेको तथा आफ्नो स्वर्गीय ममतामयी माताको सम्झनामा समेत जन्मोत्सवको अवसर पारी विभिन्न कार्यक्रम गरिएको नगर प्रमुख ढकालले बताए । उनको जन्मोत्सवको अवसरमा सुन्दरहरैंचा पत्रकार समूहका अध्यक्ष मणिराम दाहाल मार्फत प्रमुख ढकाललाई मायाको चिनो स्वरूप उपहार समेत प्रदान भएको थियो ।