आजबाट निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सुचारु


काठमाडौं, १६ भदौं । सरकारले बन्दाबन्दीको पाँच महिनापछि आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ ।

भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएका कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्डर्ड दुवै उडानको तालिका सार्वजनिक गरिसकेको छ ।

पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्र सङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिनेछ ।

पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउन पाइने छ । निगमको पहिलो उडान नारितामा
नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुने आज पहिलो दिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एक मात्र उडान तालिका रहेको छ ।

निगमको वाइड बडी जहाजले आज राति १ः०० बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ । आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । चार्टर्डतर्फ आज पाँच उडान हुनेछन् ।

नेपाल एयरलाइन्सको जहाज बिहान गन्तव्यतर्फ उडिसकेको छ भने हिमालयको जहाज पनि उड्ने तयारीमा छन् । नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ ।

विदेशबाट आउने यात्रु विमानस्थलबाट सिधै होल्डिङ सेन्टरमा जानुपर्नेछ । प्रदेश अनुसारको सातै प्रदेशको छुट्टाछुट्टै होल्डिङ सेन्टरमा पुगेपछि यात्रुको पिसीआर विवरण तथा होटल बस्नुपर्ने हो वा घर जान पाउने हो टुङ्गो लाग्छ । पिसीआर रिपोर्ट नेगेटिभ भएकाले घरमा गएर होम क्वारेन्टिनमा बस्नुपर्छ । पिसीआर रिपोर्ट नभएकाले होटलमा सात दिन बसेर स्वास्थ्य परीक्षण गराएर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै घर जान पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्