कोरोना भाइरस संक्रमणबाट झापाका दोस्रो व्यक्ति मृत्यु


झापा, १२ भदौ । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापाका एक जना वृद्धको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिकाका एक वृद्धको कोरोनाले मृत्यु भएको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत इन्द्र अर्यालले जानकारी दिएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ८३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना कारण झापाका दोस्रो व्यक्तिको मृत्यु भएको हो । यस अघि दमकका एक व्यक्तिको कोरोना संक्रमणले काठमाडौँमा मृत्यु भएको थियो । कमल गाउँपालिकामा समुदायमा कोरोना संक्रमण देखिन थालेको छ ।

साउन ३२ गते गरेको स्वाब परीक्षणको उनको रिर्पोट भदौ ३ गते आएको थियो । उनी सुरुमा लाइफलाइन अस्पताल दमक उपचारका लागि आएका थिए । त्यसपछि उनी बिएण्डसी अस्पताल गएका थिए । त्यहाँ जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्