बेलबारी, १० भदै । बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीले लकडाउनमा अत्यावश्यक पसल बाहेक अन्य खुल्ला भए, अटेर गरे नगरपालिकाले आवश्यक कारबाही गर्ने बताएकी छिन ।
मंगलबार बेलबारीको बजार अनुगमन गर्दै सो कुरा बताएकी हुन । उनले भनिन, “लकडाउनको पालना गरौँ । लकडाउन कोरोनाको जोखिमको कारण गरिएको तपाई, हाम्रो सुरक्षाको लागि हो । हाम्रो लापरबाहीले कोरोना झन् फैलन सक्छ । अत्यावश्यक पसल बाहेक अन्य खुल्ला भए, अटेर गरे नगरपालिकाले आवश्यक कारबाही गर्ने छ ।”
बेलबारी वाड नं. १, २, ३, ५, ६, ७ र ९ मा बजार अनुगमन भएको थियो । खुल्ला रहेको मेडिकल पसल, सब्जी पसल लगायतका अत्यावश्यक पसलमा अनुगमन भएको थियो । अनुगमनको क्रममा बजार क्षेत्रमा अत्यावश्यक पसल बाहेक अन्य पसल पनि खुल्ला भेटिएको थियो । उक्त पसल बन्द गर्न आग्रह गर्दै अटेर गरे कारबाही गर्ने सम्बन्धित व्यापारीहरूलाई अनुगमन टोलीले जनाकारी गराएको छ ।
मंगलबार गरिएको अनुगमनमा वाड नं. ७ लकडाउन बढी प्रभावकारी देखिएको उपप्रमुख पराजुलीले बताइन । वाड नं. ७ का अध्यक्ष चेत बहादुर बस्नेतका अनुसार स्थानीय सबैलाई प्रत्येक दिन सचेत गराउने कार्यमा वडा कार्यालय लागि रहेको छ । सोही कारण स्थानीय तथा सशस्त्र प्रहरीको सहयोगमा लकडाउन प्रभावकारी भएको अध्यक्ष बस्नेत बताउँछन् ।
लकडाउन समय अवधिसम्म बाहिरबाट कुनै पनि खाद्यान्न मालबहक सवारीसाधन भए पनि वाड नं.७ भित्र प्रवेशमा निषेध गरिएको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् । अनुगमन टोलीमा उपमेयर पराजुलीको संयोजकत्वमा कार्यपालिका सदस्य बिन्दुकला गुरुङ, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी सहायक निरीक्षक हस्त थापा, बेलबारी स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी नोवल श्रेष्ठ लगायतको सहभागिता रहेको थिए ।
खाद्यान्न तथा तरकारीमा मूल्यवृद्धि र अत्यावश्यक सामाग्रीमा कृत्रिम अभावलाई अन्त्य गर्न, लकडाउन प्रभावकारी बनाउन भिडभाड हुन नदिन, घर बाहिर अत्यावश्यक कममा हिँड्दा अनिवार्य मास्क प्रयोग गर्न लगायतको सचेतना प्रदान गर्ने अभियानसहित अनुगमन कार्य भइरहेको उपप्रमुख पराजुलीले बताइन । अनुगमन निरन्तर जारी रहने पराजुलीले जनकारी दिएकी छिन । बेलबारीवासीलाई यस विषम परिस्थितिमा नआत्तिन र उच्च सावधानी अपनाउन आग्रह समेत गरेकी छिन ।