बेलबारीमा भारतीय खाद्यान्न सवारी साधन प्रवेशमा स्थानीय आक्रोशित


बेलबारी, १० भदै । लकडाउनमा मोरङको बेलबारी नगरपालिकामा रातको १२ बजे भारतीय ट्रक प्रवेश गरे पछि स्थानीय आक्रोशित भएका छन् । बेलबारीमा बढ्दो कोरोना संक्रमणले त्रसित भएको बेला भारतीय ट्रकको प्रवेशको कारण स्थानीय आक्रोशित भएका हुन ।

मंगलबार वाड नं. १ स्थित दुर्गा मन्दिर तथा बेलबारी ट्राफिक कार्यालय अगाडी पूर्व पश्चिम राजमार्गमा ट्रक रोकेर आलु अनलोड गर्दै गरेको स्थानीयले देखे पछि कहाँबाट आएको भनी चासो प्रकट गर्दा चालकसहित केही भारतीय नागरिक भागेका थिए ।

केही समय पछि फर्केका ट्रक चालकले डरले भागेको भनी बताएको बेलबारी ट्राफिक कार्यालयले जनाएको छ । स्थानीय विजय तामाङका अनुसार कहाँबाट आएको भनी चासो प्रकट गर्दा चालकसहित ट्रकमा काम गर्ने केही युवा भागेका थिए । स्थानीय युवा सुवास राई, किसान रोक्का लगायतले यस विषम परिस्थितिमा भारतीय सवारी साधनको प्रवेशले अझै जोखिम बढ्ने तथा त्रास फैलाउने भएकोले निषेध गर्नु पर्ने बताएका छन् ।

उक्त ट्रक तथा खाद्यान्न सामाग्री नेपाल प्रवेशका लागी सबै वैधानिक प्रक्रियाका कागजात चालकसँग रहेको ट्राफिक कार्यालयले जनाएको छ । वैधानिक प्रक्रियाका काजगतको कारण ट्राफिक कार्यालयले ट्रकलाई छोडेको छ । तर बढ्दो कोरोनाको संक्रमणको कारण स्थानीय सरकारले लकडाउन जारी गरेको बेला भारतीय मालबहक ट्रक लगायतको सवारी साधन प्रवेश गर्न नहुने स्थानीय युवाहरू माग रहेको छ ।

यस अघि पनि कोरोनाको त्रासकै कारण बेलबारी वाड नं.४ स्थित बेतना सिमसार अगाडी अनलोड गर्दै गरेको अवस्थामा भेटे पछि स्थानीयहरूले भारतीय खाद्यान्न मलबहक सवारी साधनको प्रवेशमा आपत्ति जनाएका थिए । बेलबारीका सम्बन्धित खाद्यान्न व्यापारीलाई पनि स्थानीयले ध्यानाकर्षण गराएका थिए । बेलबारीमा हुने खाद्यान्न उत्पादनलाई प्राथमिकतामा राखेर नगरपालिकाले बजार व्यवस्थापन गर्न समेत स्थानीयले आग्रह गरेका छन् ।

बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले हाइवे खुल्ला भएकोले वैधानिक प्रक्रिया पुरा गरेका भारतीय खाद्यान्न सामाग्री बोक्ने सवारीसाधनलाई बेलबारी प्रवेशमा स्थानीय सरकारले निषेध गर्न नमिल्ने बताएका छन् । यद्यपि स्थानीय सबै सचेत हुन, आवश्यक रहेको उनले बताए । बेलबारी नगरपालिका भित्र जोखिम बढ्ने किसिमका कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा खबर गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्