विराटनगर, ८ भदौ । मोरङको विराटनगरमा थप एक जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारको क्रममा उनको आइतबार मृत्यु भएको हो ।
आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।
मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् । भदौ ४ मा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ ।
विराटनगर–९ र १० मा दुई–दुई जनाको मृत्यु भएको छ । वडा नम्बर–१० का मृतकमध्ये एक जनाको स्थायी ठेगाना कटहरी गाउँपालिका हो । यस्तै विराटनगर महानगरपालिकाका २, ३, ५, ६ र १५ नम्बर वडामा एक–एक जनाको मृत्यु भएको छ ।