बेलबारीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, ५ जना डिस्चार्ज : संक्रमित संख्या १९ पुग्यो


बेलबारी, ८ भदौ । बेलबारीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी वाड नं. ३ का ३१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिर्पोटमा पोजेटिभ देखिएको हो ।

उनले बेलबारी स्वास्थ्य शाखालाई जानकारी गराउँदै प्रदेश २, जनकपुरबाट फर्केर सिधै उपचारको लागि प्रतिष्ठान गएको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सन्तोष वि.कले बताएका छन् ।

उनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय जनकपुरका मिल अधिकृत हुन । ज्वरो, सुक्खा खोकी लागे पछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पुगेको स्वयम उनले फोन सम्पर्क गरेर हामीलाई जानकारी गराएका छन् ।

बेलबारीका कोहीसँग पनि प्रत्यक्ष भेटघाट तथा सम्पर्कमा रहेको उनले बताएका छन् । आफूसँगै काम गर्ने साथीको परीक्षण रिर्पाेट पोजेटिभ देखिए पछि उनलाई पनि कोरोनाको लक्षण देखिएको महसुस भएर बेलबारी नगरपालिका स्वास्थ्य शाखासँगको परामर्शमा प्रतिष्ठान पुगेको उनले बताए ।

उनी भन्छन्, “हामीलाई लक्षण देखिए स्वास्थ्यकर्मीको परामर्श लिएर सचेत नागरिक भएर सम्बन्धी उपचार केन्द्र जानु नै राम्रो हुने छ । परिवारसँगको सम्पर्क भएको भए आज मेरो परिवारलाई पनि संक्रमण हुन सक्ने थियो । तर सचेत भएकै कारण म उपचार केन्द्र आए ।” कोरोना लक्षण लुकाएर हैन उपचार गरेर, जित्नु पर्ने उनी बताउँछन् ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीसँगै बेलबारीमा संक्रमितको संख्या १९ पुगेको छ भने ५ जना निको भएर घर फर्की सकेका छन् । सन्तोषका अनुसार आज नयाँ थपिएको एक जनासँगै पीसीआर परीक्षणमा समुदाय स्तरमा १३ जना र क्वारेन्टाइनमा रहेको ५ जना गरी जम्मा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले क्वारेन्टानमा २४ जना रहेको सन्तोषले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्